शेरा दरबारको जग्गा सरकारको नाममा फिर्ता ल्याउने कार्यमा सहयोग गर्न तयार छौंः अध्यक्ष दाहाल
१८ पुस, काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नुवाकोटको शेरा दरबारको जग्गा सरकारको नाममा फिर्ता ल्याउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
बिहीवार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले ललिता निवासको जस्तै शेरा दरबारको जग्गा सरकारको नाममा फिर्ता ल्याउन सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।
उहाँले शेरा दरबार जग्गा प्रकरणको निश्पक्ष छानबिन गरी दोषिलाई कारबाही गर्न चाहेको खण्डमा सरकारलाई सहयोग गर्न तयार रहेको बताउनुभयो । अध्यक्ष दाहालले सरकारको जमिन कुनै व्यक्तिले गैरकानूनी रुपले व्यक्तिको नाममा हाल्ने कार्यमा जो कोही संलग्न भएपनि कानूनको दायरामा ल्याउनुपर्ने उल्लेख गर्नुभयो ।
शेरा दरबारको जग्गा सरकारको नाममा फिर्ता ल्याएको खण्डमा सरकारलाई सहयोग मात्र नभइ धन्यवाद समेत दिने अध्यक्ष दाहालले बताउनु भयो ।