थाहा नगरपालिकाद्वारा ५० प्रतिशत अनुदानमा आलुको बीउ बितरण
१७ पुस, हेटौंडा । आलु खेतीको लागि थाहा नगरपालिकाले ५० प्रतिशत अनुदानमा आलुको बिउ वितरण गरेको छ ।
कृषि बिकास शाखाले वडा नं. ३ मा नगरपालिकाको ५० प्रतिशत अनुदान लागत र वडामा रहेको अविरल कृषि समुहको ५० प्रतिशत लागतमा आलुको उन्नत जातको बीउ बितरण गरेको हो ।
नगरपालिकाको २ लाख ९३ हजार र कृषि समुहको २ लाख ९३ हजार गरि ५ लाख ८६ हजारको ६ सय ५० किलो आजिटा जातको उन्नत आलुको बीउ बितरण गरिएको थाहा नगरपालिका कृषि शाखा प्रमुख संजय तिवारीले जानकारी दिनुभयो । थाहा नगरले आलु उत्पादन राम्रो गर्न सिचाइ सुबिधालाई पनि व्यवस्थापन गर्नुपर्ने कृषकहरुको भनाई छ ।
कार्यक्रममा थाहा नगरका प्रमुख विष्णु बिष्टले नगरपालिकाले सबैभन्दा बढी बजेट कृषि क्षेत्रमा बिनियोजन गरेको बताउनुभयो । संघिय सरकार र प्रदेश सरकारको रासायनिक मल बितरण प्रणालीले थाहाका कृषकहरुलाई मारमा पारेको बताउदै उहाँले मल बितरणमा थाहा नगरपालिकालाई उच्च प्राथमिकतामा राख्न अनुरोध समेत गर्नुभयो ।
अबिरल कृषि समुहका सदस्य तथा अगुवा कृषक श्याम बिष्टले यो बीउ नेपाल सरकारले सिफारिस गरेको बीउ भएको हुँदा ढुक्क भएर लगाउन समेत आग्रह गर्नुभयो ।
समुहका जेष्ठ सदस्य सानोकाजी कार्कीको अध्यक्षतामा सम्पन्न बीउ आलु बितरण कार्यक्रममा थाहा ३ का अध्यक्ष हिरेन्द्र कुमार रायमाझी, विभिन्न कृषि समुहका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।