अवस्था परिवर्तनको आन्दोलन आजको आवश्यकताः मन्त्री काफ्ले
१५ पुस, हेटौँडा । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले अवस्था परिवर्तनको आन्दोलन आजको आवश्यकता भएको बताउनुभएको छ ।
४९ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस २०८१ को अवसरमा विपी विचार समाज मकवानपुरले सोमबार हेटौँडामा आयोजना गरेको विचार गोष्ठी कार्यक्रममा बोल्नुहुँदै मन्त्री काफ्लेले अवस्था परिवर्तनको आन्दोलनलाई दबाउन खोजे देश निर्माण हुन नसक्ने बताउनुभयो ।
वर्तमान व्यवस्थालाई बलियो बनाउन जनतालाई सही सुचना दिनुपर्ने उहाँको भनाई छ । मन्त्री काफ्लेले समाज रुपान्तरणको लागि राजनीतिक नेतृत्वहरुले सहीलाई सही गलतलाई गलत भन्नुपर्ने बताउनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टी तर्फ लक्षित गर्दै मन्त्री काफ्लेले नयाँ राजनीतिक दलको उदय सामान्य भएपनि ति दलहरुले जनतामा गलत भ्रम फैलाएको जिकिर गर्नुभयो ।
मन्त्री काफ्लेले राजनीतिक दलहरुप्रति जनताको आक्रोश र निराश स्वभाविक भएको बताउनुभयो । निर्वाचनको बेला सबै राजनीतिक दलले चुनावी घोषणापत्रमा शिक्षा, स्वास्थ्य निः शुल्क भनेतापनि व्यवहारमा लागु गर्न नसकेकै कारण जनताको असन्तुष्टि बढेको उहाँले बताउनुभयो । मन्त्री काफ्लेले राज्यको सबै क्षेत्रमा जनताको समान पहुँच हुने गरी निर्वाचित जनप्रतिनिधिहरुले काम गर्नुपर्नेमा जोड दिनुभयो ।
विपी विचार समाज मकवानपुरका अध्यक्ष विनोद चन्द्र कोइरालाको सभाध्यक्षतमा भएको कार्यक्रममा सहभागी वक्ताहरुले विपिले नेपालको राजनीति र साहित्य क्षेत्रमा खेल्नुभएको भुमिकाको चर्चा गरेका थिए ।