गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि १० करोड रुपैयाँ निकासा गराउने

स्वर्णिम खबर
११ पुष २०८१, बिहीबार १७:५९

११ पुस, हेटौँडा । बागमती प्रदेश सरकारले चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि १० करोड रुपैयाँ निकासा गराउने भएको छ ।
बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले अनुदान स्वरुप भरतपुर महानगरपालिकालाई उक्त रकम निकासा दिने निर्णय गरिएको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिनुभयो । चालू आर्थिक वर्षको बजेटमा नै विनियोजन गरिएको रकम महानगरपालिकालाई प्रदेश सरकारले उपलब्ध गराउन लागेको हो । प्रदेश सरकारले गत आर्थिक वर्षमा ५ करोड रुपैयाँ भरतपुर महानगरपालिकालाई उपलब्ध गराएको थियो ।
बैठकले प्रदेश प्रमुखको कार्यालयको सवलिकरणका लागि १० लाख बजेट उपलब्ध गराउने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिम परिषद् (सिटिइभिटी) प्रमुख कार्यकारी निर्देशकमा नुवाकोट निवासी शान्ति लामालाई नियुक्त गरेको छ । बैठकले स्वास्थ्य संस्था आशयपत्र सेवा सञ्चालन अनुमति नवीकरण तथा स्तरउन्नति सम्बन्धि मापदण्ड दफावार छलफलका लागि मन्त्रीस्तरीय समितिमा पठाउने निर्णय गरेको प्रवक्ता लामिछानेले जानकारी दिनुभयो ।
बैठकले संघीय सरकारबाट जिम्मेवारी लिएर आएका ३ जना राजपत्राङिकत प्रथम श्रेणिका अधिकृत र ११ औं तहमा बढुवा हुनुभएका सचिवलाई रिक्त रहेका मन्त्रालयमा व्यवस्थापन गर्ने निर्णय गरेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*