प्रदेश लिग फुटबल सुरु, काठमाडौँको बिजयी सुरुवात
१० पुस, हेटौँडा । बुधबार देखि सुरु भएको दोश्रो संस्करणको बागमती प्रदेश लिग फुटबल प्रतियोगितामा काठमाडौँको चित्लाङ फुटबल क्लबले बिजयी सुरुवात गरेको छ ।
हेटौंडा ५ स्थित पिप्ले क्याम्पा रंगशालामा भएको उद्घाटन खेलमा काभ्रेको माउन्ट एभरेन्ट फुटबल क्लबलाई ३–० को फराकिलो अन्तरले पराजित गर्दै काठमाडौँले बिजयी सुरुवात गरेको हो । काठमाडौँको लागि अंकित राजकोटीले ह्याट्रिक गरेका थिए । उनले खेलको छैठौँ , २० औं र ८० औं मिनेटमा गोल गरेका हुन । खेलको म्यान अफ दि म्याच पनि राजकोटी नै घोषित भए ।
प्रतियोगिता अन्तर्गत बिहिबार २ वटा खेल हुनेछ । पहिलो खेल नुवाकोटको बटार युथ क्लब र दोलखाको टाइगर टिम तिखालाल तथा दोश्रो खेल भक्तपुरको ठिमी युथ क्लब र सिन्धुलीको ब्लु अल्पलाइन क्लब बीच हुने आयोजकले जनाएको छ ।
लिग कम नकआउटको आधारमा जारी प्रतियोगितामा ११ जिल्लामा भएको जिल्ला लिग फुटबल प्रतियोगिताको उपाधि विजेता टिमहरुको सहभागिता रहेको छ । प्रतियोगिताको उपाधि विजेताले नगद २ लाख र उपविजेताले नगद एक लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल खेल पुस २० गते हुनेछ ।