योजना छनोटको विधि नै गलत छः मन्त्री खड्का
१० पुस, हेटौँडा । बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिचाई मन्त्री श्यामबहादुर खड्काले योजना छनोटको विधि नै गलत भएको बताउनुभएको छ ।
आवश्यकताको आधारमा योजना छनोट गर्नुपर्नेमा मन्त्री खड्काले जोड दिनुभयो । मकवानपुरगढी गाउँपालिका ४ मा रहेको वाइवा डाँडा लिफटीङ सिंचाई उपभोक्तmा समितीको ट्याङकीको बुधवार शिलान्यास गर्दै उहाँले व्यक्ति–व्यक्तिले योजनाको माग गर्दा कार्यान्वयनको पाटो फितलो भएको बताउनुभयो । निर्वाचित जनप्रतिनिधी, समाजसेवी, बुद्धीजिवी, स्थानिय उपभोक्ताहरुको छलफलबाट नै अधिकतम लाभ प्राप्त हुने योजना छनौट गर्नुपर्ने उहाँको भनाई छ ।
सम्पन्न भइसकेका योजनाहरुको संरक्षण र सदुपयोगमा पनि ध्यान दिन उहाँले आग्रह गर्नुभयो । मन्त्री खड्काले ट्याङकी निर्माण पश्चात् तीनसय रोपनी जमिनमा सिचाईको सुविधा पुग्ने बताउनुभयो ।
कुल २० लाखमा १ लाख ५० हजार लिटर क्षमता भएको ट्याङकी निर्माण गर्न लागिएको समितीका अध्यक्ष राजकुमार योन्जनले जानकारी दिनुभयो । ट्याङकी निर्माण पश्चात् ३ ठाउँबाट पानी वितरण गर्न थप १ करोडको आवश्यकता पर्ने समितिले जनाएको छ ।
कार्यक्रममा जलस्रोत तथा सिचाई विकास डिभीजन कार्यालय मकवानपुरका कार्यालय प्रमुख निर्मल दाहाल, नेपाली कांग्रसका नेता आनन्दराम पराजुली, वडा अध्यक्ष अर्जुन प्रसाद तिमल्सिना लगायत स्थानियहरुको सहभागीता रहेको थियो ।