कांग्रेसका महामन्त्री गगन थापा पुस १६ गते हेटौंडा आउने
८ पुस, हेटौँडा । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा पुस १६ गते हेटौंडा आउनुहुने भएको छ ।
हरेक वर्ष नेपाली कांग्रेसले पुस १६ गते मनाउँदै आएको राष्ट्रिय एकता तथा मेलमिलाप दिवस कार्यक्रमलाई सम्बोधन गर्न महामन्त्री थापा हेटौंडा आउन लाग्नुभएको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । पत्रकार सम्मेलनमा कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले पुस १६ गते हेटौंडामा कांग्रेसले केन्द्रीय पदाधिकारीहरुको समेत उपस्थितिमा शुभकामना आदानप्रदान सहित सम्मान कार्यक्रमको आयोजना गर्न लागिएको जानकारी समेत दिनुभयो ।
उक्त दिन पार्टीका पूर्व सभापतिहरु, पार्टीमा लामो समय योगदान गरेका अग्रज लगायत गरी करिब ३० जनालाई सम्मान गर्ने योजना बनाइएको सभापति लामाले बताउनुभयो । हेटौंडाको रोयल पार्टी प्यालेसमा हुने कार्यक्रममा महामन्त्री थापा सहित सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीना, बागमती प्रदेश सभापति ईन्द्र्रबहादुर बानियाँलगायतको सहभागिता रहने जनाइएको छ ।
पार्टीका संस्थापक नेता बीपी कोइराला, गणेशमान सिंहलगायतका नेताहरु लामो निर्वासन अन्त्य गरी भारतबाट स्वदेश फर्किएको दिन पुस १६ गतेलाई कांग्रेसले हरेक वर्ष ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का रुपमा मनाउने गरेको छ ।