वातावरण जोगाउन सबै लाग्नुपर्छः मुख्यमन्त्री लामा
८ पुस, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले वातावरण जोगाउन सबै लाग्नुपर्ने बताउनुभएको छ ।
वातावरण नराम्रो हुँदा सबैलाई प्रभाव पार्ने भएकाले वातावरण जोगाउन सबै लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । जलवायु कार्यको स्थानीयकरण सार्वजनिक सम्पदा संरक्षण र न्यायमा लैङ्गिक दृष्टिकोण विषयक कार्यक्रमलाई सोमबार हेटौँडामा सम्बोधन गर्दै मुख्यमन्त्री लामाले मानवीय वातावरण र सम्पदालाई जोगाउनुपर्ने बताउनुभयो ।
मुख्यमन्त्री लामाले वातावरण प्रभाव मूल्याङ्कन गर्दा विशेष ध्यान दिनुपर्ने बताउनुभयो । जलवायु परिवर्तनको प्रभाव स्थानीय स्तरमा बढी पर्ने भएकाले यसको सचेतना स्थानीय तहमा बढी हुनुपर्ने मुख्यमन्त्री लामाको भनाई छ ।
यसैगरी कार्यक्रममा बोल्नुहुँदै प्रदेशकी सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले जलवायु परिवर्तनको असर बढेको प्रति चिन्ता व्यक्त गर्नुभयो । उहाँले नीतिगत रूपमा मन्त्रालय सहयोग गर्न प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सार्वजनिक सम्पदाको जोगाउन नसके पहिचान पनि मेटिँदै जाने बताउँदै उहाँले सम्पदाको संरक्षण र संवर्द्धन गर्नुपर्नेमा जोड दिनुभयो । राजनीतिक रूपमा महिला अगाडि बढेको बताउँदै अब आर्थिक रूपमा अगाडि बढ्नुपर्नेमा मन्त्री खड्गीले बताउनुभयो ।
त्यसैगरी वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवालले सुविधाको नाममा पृथ्वीलाई मानव समुदायले ध्वस्त बनाउँदै लगेको बताउनुभयो । जलवायु परिवर्तनले हिमाल पग्लँदै गएको र तटीय बस्तीका समुदाय जोखिममा रहेको उहाँको भनाई छ ।
कार्यक्रममा एक्सन एड परियोजना कार्यक्रम संयोजक कविता बस्नेतले जलवायु परिवर्तन र यसले पारेको असरबारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । प्रदेश स्तरीय संवाद कार्यक्रममा सङ्घीय सरकारले निर्माण गरेका जलवायुसम्बन्धी नीति, ऐनलाई स्थानीय तहसम्म ल्याउँदा परेको कठिनाइ, समस्यालाई कसरी समाधान गर्ने लगायतका विषयमा बृहत् छलफल भएको थियो । संवाद कार्यक्रम स्थलमा वनसँग जोडिएर उत्पादन गरिएकोसाबुन, ढक्की, महको लगायतका स्टल राखिएको थियो । मकवानपुर महिला समूह अध्यक्ष कमला सुवेदीको सभाध्यक्षतामा कार्यक्रम भएको थियो ।