संघीयता कार्यान्वयनसँग जोडिएका कानूनहरुको निर्माणमा सक्रियतापूर्वक लागेको छुः सभामुख घिमिरे
४ पुस, काठमाडौँ । सभामुख देवराज घिमिरेले संघीयता कार्यान्वयनसँग जोडिएका कानूनहरुको निर्माण गर्न सक्रियतापूर्वक लागिरहेको बताउनुभएको छ ।
बिहीवार नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सबै क्षेत्र, लिङ्ग, भाषा, धर्म, संस्कृति, अल्पसंख्यक समुदायलाई समेत सम्बोधन हुनेगरी विकास तथा सेवाको ढाँचा निर्माणदेखि कार्यान्वयनमा ध्यान दिँदै जानु नै संघीयताको सफल कार्यान्वयनको सूचक भएको उल्लेख गर्नुभयो । तीन तहकै सरकारहरुबीचको अधिकार बाँडफाँड र तिनीहरुको कार्यान्वयनमा धेरै मतभेद नरहेको समेत उहाँले बताउनुभयो ।
सभामुख घिमिरेले संघीयता कार्यान्वयनको शुरुवाती अवस्थादेखि रहेका केही कमी, कमजोरीहरु अहिले कार्यान्वयनको क्रममा समाधान हुँदै गएको उल्लेख गर्नुभयो । उहाँले संघीय शासन प्रणाली भनेकै निरन्तर अभ्यासको क्रममा देखिएका समस्या समाधान गर्दै अघि बढ्ने पद्धति भएको बताउनु भयो ।
यसैगरी सरकारका मुख्यसचिव एकनारायण अर्यालले संघीयता आइसकेपछि सरकारी निकायहरुबीच समन्वयको अभाव देखिएको बताउनुभयो । उहाँले संविधानमा सहकार्य, समन्वय र सहअस्तित्व भनेपनि धेरै कुराहरु अलमलमा रहेको उल्लेख गर्नुभयो । मुख्यसचिव अर्यालले पालिकाहरुले बनाएका कानूनहरुमा पनि विवादित विषयहरु रहेको बताउनुभयो । उहाँले संघीय कानून भन्दा विपरित कानून बनाउन नपाइने भएपनि त्योअनुसारको कानून नबनेको बताउनुभयो ।
मुख्यसचिव अर्यालले सरकारले सबै सेवाहरु प्रविधिमैत्री बनाउने भनेर काम अघि बढाइरहेको बताउनु भयो ।