आपराधिक अनुसन्धान विधिसम्मत र कानूनसम्मत रुपले हुन्छः गृहमन्त्री लेखक

स्वर्णिम खबर
३ पुष २०८१, बुधबार १२:०५

३ पुस, काठमाडौँ । गृहमन्त्री रमेश लेखकले मान्छेको अनुहार हेरेर अनुसन्धान नहुने बताउनुभएको छ ।
बुधवार रुपन्देहीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले आपराधिक अनुसन्धान विधिसम्मत र कानूनसम्मत रुपले गर्ने बताउनु भयो । उहाँले अनुसन्धानमा राजनीतिक हस्तक्षेप हुनु नहुने पनि उल्लेख गर्नुभयो । उहाँले शान्ति सुरक्षासँग जोडिने प्रहरी संगठनलाई दुरुपयोग गर्न नहुने बताउनुभयो ।
प्रहरी संगठनलाई कसैको पनि हित वा अहितमा अनावश्यक रुपले प्रयोग गर्न नहुने उहाँको भनाई छ । अपराधमा सबैमाथि अनुसन्धान हुने र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि पनि सहकारीको रकम अपचलनमा अनुसन्धान भइरहेको गृहमन्त्री लेखकले बताउनु भयो ।
गृहमन्त्री लेखकले अभियुक्त लामिछानेलाई चितवनबाट पोखरा लैजाँदा कुनैपनि मानव अधिकारको उल्लंघन नभएको बताउनुभयो । गृहमन्त्री लेखकले लामिछानेमाथि कुनै ज्यादतीपूर्ण काम नगरेको र शान्ति सुरक्षाको विषयलाई दृष्टिगत गरेर राति लगिएको स्पष्टीकरण दिनुभयो ।
लाखौँ मानिसको करोडौँ रकम खानेमाथि मानवअधिकार उल्लंघन हुने तर लाखौँ मानिसको रकम गुमेकोप्रति मानव अधिकार उल्लंघन नहुने हो भन्दै गृहमन्त्री लेखकले प्रश्न गर्नुभयो । उहाँले गितेन्द्रबाबु राई (जिबी राई) लाई नेपाल ल्याउने प्रयत्न भइरहेको पनि बताउनुभयो ।
गृहमन्त्री लेखकले चीन भ्रमणका क्रममा बिआआईअन्तर्गत कुनैपनि ऋण सम्झौता नभएको बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*