प्रकृतिको पुजा गरी हेटौंडामा पनि किराँत समुदायले उधौली पर्व मनाए
३० मंसिर, हेटौँडा । प्रकृतिको पुजा गरी हेटौंडामा पनि किराँत समुदायले उधौली पर्व मनाएका छन् ।
किराँत देवास राई उत्थान समाज नेपाल, जिल्ला कार्यसमिति मकवानपुरको आयोजनामा उधौली साकेला सिली २०८१ अर्थात यले सम्बत् ५०८४ को अवसरमा हेटौंडा ६ चौघडास्थित पिसपार्कमा प्रकृतिको पुजा गर्दै किरात समुदायले पर्व मनाएका हुन । किरात देवास राई उत्थान समाज नेपालका केन्द्रिय अध्यक्ष आस्मान राईको प्रमुख आतिथ्यता एवम् हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानिंयाको विशेष आतिथ्यतामा आइतबार शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा अध्यक्ष राईले राजनीतिक र आन्तरिक कारणहरुले किरात समुदाय पछाडि परेको बताउनुभयो । मकवानपुर गढी, चिसापनी गढी लगायतका किराँतीहरुले राज्य गरेको गढीहरुको संरक्षणमा एकजुट हुनुपर्नेमा उहाँले जोड दिनुभयो । राज्यको महत्वपूर्ण निकायहरुमा किराँतीहरुको प्रतिनिधित्व नहुनु दुःखदायी भएको उहाँको भनाई छ ।
यसैगरी कार्यक्रममा बोल्नुहुँदै उपमेयर राजेश बानिंयाले किराँत समुदायलाई संविधानले नै मुलबासी भनेर पहिचान गरेको जिकिर गर्नुभयो । विगतमा व्यवस्था परिवर्तनको लागि किराँत समुदायको महत्वपूर्ण भुमिका रहेको उहाँले बताउनुभयो । शिक्षा र कृषिको विकास गरी किराँतीको अवस्था परिवर्तनमा लाग्नुपर्ने बेला आएको उपमेयर बानिंयाको भनाई छ ।
समितिका मकवानपुर अध्यक्ष बद्रीबहादुर राईको सभाध्यक्षतामा भएको कार्यक्रममा ६ नंंं. वडाका वडा अध्यक्ष विष्णुबहादुर दाहाल, पूर्व वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाई, केन्द्रिय उपाध्यक्ष रामबहादुर राई लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा चण्डीनाच, च्याब्रुङनाच, ढोलनाच लगायतका नाचहरुपनि प्रस्तुत गरिएको थियो । यो पर्व ऋतु परिवर्तनसँगै वर्षमा दुईपटक धूमधामका साथ मनाउने गरिन्छ । वैशाख शुक्ल पूर्णिमा अर्थात् वसन्त ऋतुमा उभौली र मंसिर शुक्ल पूर्णिमा अर्थात् शरद् ऋतुमा उधौली पर्वका रूपमा मनाउने परम्परा रहिआएको छ ।