हेटौँडा १६ लाई पुस १२ गते बालमैत्री वडा घोषणा गरिने

स्वर्णिम खबर
२६ मंसिर २०८१, बुधबार १९:११

२६ मंसिर, हेटौँडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१६ लाई पुस १२ गते निकृष्ट बालश्रम मुक्त, बालविवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिने भएको छ ।
घोषणा कार्यक्रम समारोहको पूर्वसन्ध्यामा बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दे बालमैत्री घोषणा तयारीका विषयमा जानकारी प्रदान गरिएको हो । १६ नम्बर वडाका अध्यक्ष एवं बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा मूल समारोह समिति संयोजक रामकृष्ण कोइरालाले बालमैत्री वडा घोषणाका लागि सबै तयारी पूरा भएको जानकारी दिनुभयो ।
यस वडाले बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणाका लागि आवश्यक ५१ सूचक मध्य ४७ वटा सूचकमा सतप्रतिशत र बाँकी सुचकमा न्यूनतम नतिजा हासिल गरेको उहाँले जानकारी दिनुभयो । यस वडामा सामुदायिक, संस्थागत विद्यालय र बाल विकास केन्द्र सहितका गरी ६ वटा विद्यालय सञ्चालनमा रहेको वडा अध्यक्ष कोइरालाले बताउनुभयो ।
२१ वटा बाल समूहहरु र एउटा वडा बाल सञ्जालमा ५ सय २५ बालबालिका आबद्ध रहेको उहाँले बताउनुभयो । २०७९ को घरधुरी सर्वेक्षण अनुसार यस वडामा १८ वर्ष मुनिका २ हजार ३ सय ८० बालबालिका रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*