तत्काल प्रदेश सभा बैठक बोलाउन माओवादी केन्द्रको माग
२५ मंसिर, हेटौँडा । बागमती प्रदेशको प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले तत्काल प्रदेश सभा बैठक बोलाउन माग गरेको छ ।
दलको कार्यालय हेटौंडामा मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै माओवादी केन्द्र प्रदेश संसदीय दलले लामो समयदेखि बस्न नसकेको प्रदेश सभा बैठक अविलम्ब बोलाउन माग गरेको हो ।
पत्रकार सम्मेलनमा बोल्दै संसदीय दलका नेता एवम् पूर्व मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बाढी पहिरो लगायत प्राकृतिक विपत्तिको समयमा समेत प्रदेश सरकार बेखबर बनेको आरोप लगाउनुभयो । सरकारले तुरुन्त प्रदेश सभा बेठक नबोलाए संवैधानिक प्रक्रिया अनुसार जाने चेतावनी समेत उहाँले दिनुभयो ।
असोज १४ गतेको सर्वदलीय बैठकको निर्णय कार्यान्वयन गर्न र कार्तिक २८ गते बागमति प्रदेश सरकारका मुख्यमन्त्री बहादुर सिंह लामालाई बुझाइएको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएका विषयहरु गम्भीरतापूर्वक सम्बोधन गर्न संसदीय दलले प्रदेश सरकार समक्ष माग समेत गरेको छ ।