एनपीएलः सुदुरपश्चिमको अपराजित यात्रामा पूर्णबिराम, लुम्बिनीको लगातार चौथो हार
२३ मंसिर, काठमाडौँ । लगातार तीन खेल जित्दै उत्कृष्ट सुरुवात गरेको सुदूरपश्चिम रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो हार व्यहोरेको छ ।
आइतबार भएको दिनको दोस्रो खेलमा चितवन राइनोजले सुदूरपश्चिम रोएल्सलाई ३३ रनले पराजित गर्दै अपराजित यात्रामा ब्रेक लगाएको हो । चार खेलमा सुदूरपश्चिमको यो पहिलो हार हो । चितवनले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १८ दशमलब २ ओभरमा सबै विकेट गुमाएर १ सय ३१ रन मात्र बनाउन सक्यो ।
जितपछि चितवनले चितवनले पनि सुदूरपश्चिम समान ४ खेलबाट ६ अंक नै जोडेको छ । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चितवनले हसन इसाखिलको अर्धशतक मदतमा निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो ।
यता जनकपुर बोल्ट्ससंग एक रनले पराजित हुँदै लुम्बिनी लायन्सले भने प्रतियोगितामा लगातार चौथो हार ब्यहोरेको छ । जनकपुरले दिएको एक सय ३७ रनको लक्ष्य पछ्याएको लुम्बिनीले आठ विकेट गुमाएर एक सय ३५ रन मात्र बनाउन सक्यो । लुम्बिनीका कप्तान रोहित पौडेले ३५ रन बनाए ।
त्यसअघि टस हारेर ब्याटिङ गरेको जनकपुरले नौ विकेट गुमाएर एक सय ३६ रन बनायो । जनकपुरका कप्तान अनिल शाहले सबैभन्दा धेरै ४५ रन बनाए । जनकपुर चार खेलमा आठ अङ्कसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । समान खेलमा लागातार पराजित लुम्बिनी अङ्कविहीन हुँदै तालिकाको पुछारमा छ ।