बिआरआईमा हस्ताक्षर गर्दा भारतले आपत्ति जनाउनुपर्ने कारण छैनः पूर्व परराष्ट्रमन्त्री महासेठ
२१ मंसिर, काठमाडौँ । पूर्व परराष्ट्रमन्त्री रघुवीर महासेठले चीन सरकारसँग नेपालले बेल्ट एण्ड रोड सहकार्य फ्रेमवर्क (बिआरआई) मा हस्ताक्षर गर्दा भारतले आपत्ति जनाउन नहुने बताउनुभएको छ ।
शुक्रवार काठमाडौंमा न्युज एजेन्सी नेपालले ‘प्रधानमन्त्रीको चीन भ्रमणपछि बिआरआई कार्यान्वयन’ सम्बन्धमा गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वपरराष्ट्रमन्त्री महासेठले बिआरआई परियोजनाबाट नेपालमा बनेका रेल,सडक लगायत अन्य कनेक्टिभिटीको विकास हुँदा भारतले पनि लाभ लिनसक्ने बताउनुभयो ।
उहाँले चीन–नेपाल जोड्ने रेल र सडक पूर्वाधार बन्दा भारतले पनि प्रयोग गर्नसक्ने भएकाले नेपालले बिआरआईमा सम्झौता गर्दैमा तर्सनुपर्ने आवश्यकता नरहेको उहाँको भनाई छ । नेकपा एमालेको उपमहासचिव समेत रहनुभएका उहाँले केरुङ–काठमाडौं र काठमाडौं–रक्सौल रेल बन्दै गर्दा सबैभन्दा बढी फाइदा भारतलाई हुने दाबी गर्नुभयो ।
उहाँले नेपालले कुनै भारत बिरोधी भावनाले प्रेरित योजना स्वीकार गर्न नसक्ने भन्दै बिआरआई फ्रेर्मवक परियोजना भारत बिरोधी नभएको जिकिर गर्नुभयो ।
पूर्वपरराष्ट्रमन्त्री महासेठले एक चीन नीतिलाई नेपालले मात्रै होइन अमेरिकाले पनि मानेको उल्लेख गर्नुभयो । उहाँले विश्व राजनीतिक उत्तारचढावको कारणले अहिले नमानेको बताउनु भयो । अहिले ताइवान स्वतन्त्र राष्ट्र भएको बताउनु भयो । पूर्वपरराष्ट्रमन्त्री महासेठले बिआरआई सम्झौतापछि बाहिर उठिरहेका प्रश्नको जवाफका लागि सम्झौतामा उल्लेख विषय अध्ययन गर्न आग्रह गर्नुभयो ।