कर्णाली र पोखराको एनपिएलमा पहिलो जीत
२१ मंसिर, काठमाडौँ । चितवन राइनोजलाई ६ विकेटले हराउँदै कर्णाली याक्सले नेपाल प्रिमियर लिग एनपिएलमा पहिलो जित दर्ता गरेको छ ।
शुक्रबार भएको पहिलो खेलमा जितको लागि १ सय ३१ रनको लक्ष्य पछ्याएको कर्णालीले १९ ओभर ५ बलमा ४ विकेटको नोक्सानीमा पूरा ग¥यो ।
कर्णालीका लागि शिखर धवनले ४५, चादविक वाल्टनलले ३० रन बनाए । चितवनका कप्तान कुशल मल्ल, जान निकोल लोफ्टी एटन र रवि बोपाराले १÷१ विकेट लिए ।
यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३० रन बनायो । चितवनका रवि बोपाराले ५९ रन बनाए । कर्णालीका विपिन शर्माले ३, जीशान मक्सूदले २ विकेट लिए ।
प्रतियोगितामा कर्णालीको यो पहिलो जीत हो । कर्णाली पहिलो खेलमा जनकपुर बोल्ट्स र दोस्रो खेलमा काठमाण्डौ गुर्खाजसँग पराजित भएको थियो ।
यसैगरी पोखरा एभेन्जर्सले पनि प्रतियोगिता जित निकालेको छ । शुक्रबार नै भएको दिनको दोश्रो खेलमा लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै पोखरा बिजयी भएको हो ।
लुम्बिनीले दिएको १ सय ७१ रनको लक्ष्य पोखराले एक विकेट पनि नगुमाई १९ बलअघि नै भेटायो । पोखराका आन्द्रेस गौसले कीर्तिमानी शतक बनाए । एनपीएलमा पहिलो शतक बनाउने क्रममा आन्द्रेसले ५५ बलमा ५ छक्का र १२ चौकाको मद्दतमा १ सय ४ रन जोडे । अमेरिकी ब्याटर आन्द्रेस एनपीएलमा सबैभन्दा कम बलमा अर्धशतक बनाउने खेलाडी पनि बनेका छन् । उनले २० बलमै अधर्शतक बनाए । यस्तै पोखराका दिनेश खरेलले ६१ रन बनाए ।
यसअघि टस जितेर ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७० रन बनाएको थियो । लुम्बिनीका कप्तान रोहित पौडेलले ९५ रन बनाए । ५९ बल खेलेका रोहितले ४ छक्का र १० चौका प्रहार गरे । यस्तै टस मूर्सले ४५ रन बनाए । पोखराका विपिन खत्रीले २ विकेट लिए ।
एनपीएलमा भोलि (शनिबार) पहिलो खेलमा बिहान ९ बजे लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स तथा दोस्रो खेलमा दिउँसो १ बजे कर्णाली याक्स र विराटनगर किङ्ग्स खेल्दैछन् ।