प्रजातन्त्र आएपछि महिलाहरु अधिकार सम्पन्न भएः मुख्यमन्त्री लामा
१९ मंसिर, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले प्रजातन्त्र आएपछि महिलाहरु अधिकार सम्पन्न भएको बताउनुभएको छ ।
महिला सशक्तिकरणको लागि प्रजातन्त्र महत्वपूर्ण कडी भएको उहाँले बताउनुभयो । मुख्यमन्त्री लामाले राजनीतिक, आर्थिक, सामाजिक सबै क्षेत्रमा महिलाहरुको अधिकार सुनिश्चित्त हुँदै भएको बताउनुभयो । महिला उद्यमशीलता प्रवर्धनका लागि गरिएका नीतिगत व्यवस्था विषय अन्तरक्रिया कार्यक्रमको बुधबार हेटौंडामा उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री लामाले महिला साक्षर भए परिवार र समाज नै शिक्षित हुन्छ भन्ने मान्यता स्थापित हुँदै गएको उल्लेख गर्नुभयो ।
पाएका अधिकारहरुलाई दुरुपयोग नगरी मुलुक र समाजको निर्माणमा महिला पुरुष एकभई अगाडि बढ्नुपर्ने उहाँको भनाई छ । मुख्यमन्त्री लामाले महिलाहरुलाई उद्यमशील बनाउन प्रदेश सरकार तयार रहेको समेत बताउनुभयो । स्थानीय उत्पादनहरुलाई अन्र्तराष्ट्रिय बजारमा निर्यात गर्नुपर्नेमा समेत उहाँले जोड दिनुभयो ।
मुख्यमन्त्री लामाले प्रतिफल आउने क्षेत्रहरुमा मात्र लगानी गर्न महिला उद्यमीहरुलाई आग्रह गर्नुभयो । ठुला उद्योगहरु सञ्चालन हुने वातावरण अझै पनि निर्माण हुन नसकेको उहाँको भनाई छ । मुख्यमन्त्री लामाले देशभित्र लगानीमैत्री वातावरण बनाउन सबै पक्ष सुध्रन जरुरी रहेको बताउनुभयो ।
महिला उद्यमी महासंघ नेपालको आयोजनामा भएको कार्यक्रममा संघीय उद्योग मन्त्रालयकी पूर्व सचिव यामकुमारी खतिवडाले महिला उद्यमशीलता विकासका लागि संघ र प्रदेश सरकारका नीति, कार्यक्रम र कार्यान्वयनका लागि समन्वयको विषयमा प्रस्तुतीकरण दिनुभएको थियो ।