पत्रकार महासंघको बागमती प्रदेश र मकवानपुर शाखामा तालाबन्दी
१८ मंसिर, हेटौँडा । नेपाल पत्रकार महासंघको बागमती प्रदेश र मकवानपुर शाखामा तालाबन्दी भएको छ ।
बागमती प्रदेश र मकवानपुर जिल्ला शाखामा प्रेस चौतारी नेपाल मकवानपुरले ताला लगाएको हो । नेपाल पत्रकार महासंघले सार्वजनिक गरेको सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरणमा असहमति जनाउँदै प्रदेश र जिल्ला शाखामा तालाबन्दी भएको हो ।
प्रेस चौतारी नेपाल मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीले केन्द्रले सार्वजनिक गरेको सदस्यतामा मकवानपुरका क्रियाशील पत्रकारलाई बाहिर राखेर गैरपत्रकारहरूलाई सदस्यता दिइएकाले विरोधस्वरूप तालाबन्दी गरेको बताउनुभयो । केन्द्रले गलत निर्णय गरेको भन्दै सो निर्णय नसच्याएसम्म तालाबन्दी जारी रहने उहाँको भनाई छ ।
महासंघले मंसिर २८ गतेका लागि तोकेका निर्वाचनसमेत यही अवस्थामा वैज्ञानिक, वैधानिक र व्यावहारिक नहुने प्रेस चौतारी मकवानपुरको ठहर छ । फर्जी पत्रकारको सदस्यता खारेज हुनुपर्ने, सदस्य हुनबाट वञ्चित गरिएका सक्रिय पत्रकारहरूलाई तुरुन्त सदस्यता दिनुपर्नेलगायतका माग गरिएको छ ।