तनभिर र रिजनले घातक बलिङ गर्दा पोखराको लज्जास्पद हार
१८ मंसिर, काठमाडौँ । शोहेल तनभिर र रिजन ढकालले घातक बलिङ गर्दा नेपाल प्रियिमर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सले चितवन राइनोजसामू लज्जास्पद हार व्यहोरेको छ ।
चितवन राइनोजसंग ८७ रनले पराजित हुँदै पोखराले प्रतियोगितामा खराब सुरुवात गरेको हो । १ सय ६२ रनको लक्ष्य पछ्याएको पोखरा १३ दशमलब २ ओभरमै ७४ रनमा अलआउट भयो । नारायण जोशीले ३० तथा मार्कुस क्रीचलीले १७ रनबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । खेलको ४ ओभरमै पोखराले ६ विकेट गुमाएको थियो । पहिलो ओभरमा सोहेल तनविरले ३ तथा चौथो ओभरमा रिजन ढकाले ३ विकेट लिएसंगै पोखराको ब्याटिङ धरमराएको थियो । त्यसैगरी लुक मार्टिनले ३ र दीपक बोहराले १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६१ रन जोडेको थियो ।
चितवनको लागि रवि वोपाराले ३८ बलमा ५१ रन जोडे । यस्तै, कुशल मल्लले २३ बलमा ३८ रन जोडे भने लुक मार्टिनले १६, हसन इसाखिलले १४ रन जोडे । अमर रौतेला १३ र शरद भेषवाकर ११ रनमा अविजित रहे ।
बलिङतर्फ पोखराका विपिन खत्री, बास डि लिडे र रेमन राइफरले २–२ विकेट लिए भने सागर ढकालले १ विकेट लिए ।