जनकपुर बोल्ट्सको लगातार दोश्रो जीत
१७ मंसिर, काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा जनकपुर बोल्ट्स लगातार दोश्रो खेलमा बिजयी भएको छ ।
सोमबार भएको दोश्रो खेलमा कर्णाली याक्सलाई ८ विकेटले हराउँदै जनकपुरले लगातार खेलमा दोश्रो जीत निकालेको हो । कर्णालीले दिएको १ सय ४२ रनको लक्ष्य जनकपुरले १५ ओभर १ बलमा मात्र २ विकेट गुमाएर भेटायो । जनकपुरका कप्तान अनिल शाहले नटआउट ६२ रन बनाए । यस्तै आसिफ शेखले ३६ रन जोडे । कर्णालीका मौसम ढकाल र जीशान मक्सूदले १÷१ विकेट लिए ।
यसअघि कीर्तिपुरमा टस जितेर ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४१ रन बनायो । कर्णालीका गुल्सन झाले ३६, अर्जुन घर्तीले ३३, कप्तान सोमपाल कामीले नटआउट २९ रन बनाए । यस्तै भारतीय खेलाडी शिखर धवन १४ रनमा आउट भए । जनकपुरका मोहम्मद मोहसिनले २ विकेट लिए । यसअघि जनकपुरले उद्घाटन खेलमा विराटनगर किङ्ग्सलाई हराएको थियो ।
सोमबार नै भएको पहिलो खेलमा चितवन राइनोजले काठमान्डु गुर्खाजलाई ५ विकेटले पराजित गरेको थियो । काठमाडौंले दिएको १ सय १२ रनको लक्ष्य चितवनले १७ ओभर खेल्दै ५ विकेट गुमाएर पूरा गरेको हो ।
चितवनका लागि सन्तोष कार्कीले अविजित रहँदै सर्वाधिक २८ रन बनाए । उनले ३१ बल खेल्दै २ चौका र १ छक्का प्रहार गरे । त्यस्तै शरद भेषावकर पनि ११ रनमा अविजित रहे । काठमाडौँको लागि शाहब आलमले ३ विकेट लिएपनि चितवनलाई जितबाट रोक्न पर्याप्त भएन ।
त्यसअघि सोहेल तनविरले ५ विकेट लिएपछि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौँले २० ओभरमा ९ विकेट गुमाएर १ सय ११ रन बनाएको थियो ।