हेटौंडा १२ मा ६८ प्रतिशत मत खस्यो

स्वर्णिम खबर
१६ मंसिर २०८१, आईतवार १८:०४

१६ मंसिर, हेटौँडा । हेटौंडा उपमहानगरपालिका वडा नं. १२ मा वडा अध्यक्षको पदको लागि भएको निर्वाचनमा ६८ प्रतिशत मत खसेको छ ।
कुल ८ हजार ५३ मतदाता रहेको १२ नं. वडामा साँझ ५ बजे सम्म भएको मतदानमा ५ हजार ४ सय ८६ अर्थात् ६८ दशमलब १२ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । दुई वटा मतदान केन्द्र रहेको वडामा सिग्रेनी स्थित प्रतिभा आधारभूत विद्यालय मतदान केन्द्रमा ३ हजार १२ मत र भोर्ले स्थित विष्णु ज्योती आधारभूत विद्यालय मतदान केन्द्रमा २ हजार ४ सय ७४ मत खसेको हो ।
भोर्लेमा ३ हजार ६ सय २५ र सिग्रेनीमा ४ हजार ४ सय २८ मतदाता रहेको थियो । गत २०७९ वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनबाट सो वडाको वडाध्यक्षमा निर्वाचित ललितबहादुर घलान जिल्ला समन्वय समिति मकवानपुरको प्रमुखमा निर्वाचित भएपश्चात सो पद रिक्त रहँदै आएको थियो ।
वडाध्यक्ष पदका लागि ९ जना राजनीतिक दलको तर्फबाट र ३ जनाले स्वतन्त्र तर्फबाट गरी १२ जनाको उम्मेदवारी परेको थियो । मतपेटिका ढुवानी गरी मतगणना स्थल हेटौंडा उपमहानगरपालिका–२ सिद्धार्थ माविमा ल्याइने प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*