हेटौंडा १२ मा वडाअध्यक्ष पदको लागि मतदान सुरु
१६ मंसिर, हेटौँडा । हेटौंडा उपमहानगरपालिका वडा नंं. १२ मा वडाध्यक्ष पदका लागि मतदान सुरु भएको छ ।
कडा सुरक्षा व्यवस्थापनका बिचमा २ मतदान स्थलमा बिहान ७ बजेबाट मतदान सुरु भएको हो ।
भोर्लेस्थित विष्णु आधारभूत विद्यालय मतदान केन्द्र र सिग्रेनीस्थित प्रतिभा आधारभूत विद्यालय मतदान केन्द्र गरी २ वटा मतदानस्थलमा ९ वटा मतदान केन्द्र तोकिएको छ ।
मतदान स्थलको बाहीरी घेरामा नेपाली सेना, भित्री घेरामा सशस्त्र प्रहरी र मतदान स्थलको पहिलो घेरामा आवश्यकता अनुसार नेपाल प्रहरी परिचालन गरिएको छ ।
सुरक्षा सुदृढ बनाउन राष्ट्रिय अनुसन्धान केन्द्र समेत परिचालन गरिएको छ । मतदानको लागि आज बेलुका ५ बजेसम्मका लागि समय तोकिएको छ ।
उक्त वडामा महिला मतदाता ४ हजार एक सय ७४, पुरुष मतदाता ३ हजार ८ सय ७८ र अन्य मतदाता १ जना गरी कुल ८ हजार ५३ मतदाता रहेको छ ।
भोर्लेमा ३ हजार ६ सय २५ र सिग्रेनीमा ४ हजार ४ सय २८ मतदाता रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
गत २०७९ वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनबाट सो वडाको वडाध्यक्षमा निर्वाचित ललितबहादुर घलान जिल्ला समन्वय समिति मकवानपुरको प्रमुखमा निर्वाचित भएपश्चात सो पद रिक्त रहँदै आएको छ । रिक्त वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको हो ।
वडाध्यक्ष पदका लागि ९ जना राजनीतिक दलको तर्फबाट र ३ जनाले स्वतन्त्र तर्फबाट गरी १२ जनाको उम्मेदवारी रहेको छ ।
मतदान कार्य सम्पन्न भएलगत्तै हेटौंडा उपमहानगरपालिका–२ सिदार्थ माविमा मतगणना गर्ने तयारी गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले जानकारी दिनुभयो ।