तीन तहका सरकार बीच समन्वय अभाव देखियोः मन्त्री खड्का
१४ मंसिर, हेटौँडा । बागमती प्रदेशका खानेपानी, उर्जा तथा सिंचाई मन्त्री श्याम खड्काले विकास आयोजना सञ्चालनका सवालमा तीन तहका सरकार बीच समन्वय अभाव रहेको बताउनुभएको छ ।
विकास आयोजना कार्यान्वयनका चरणमा तीन तहका सरकार बिच एकले अर्कोलाई नटेर्ने अवस्था रहेको उहाँको भनाई छ ।
मन्त्रालयको आयोजनामा हेटौंडामा भएको २ दिने खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी अभिमुखीकरण कार्यक्रमको समापन समारोहमा बोल्दै मन्त्री खड्काले स्थानीय तहले मागे अनुसारको आयोजनाहरु प्रदेश सरकारले दिन नसकेको र प्रदेश सरकारले पठाएको आयोजना कार्यान्वयनमा स्थानीय तहको चासो कम पर्ने समस्या रहेको बताउनुभयो ।
उक्त समस्याका बिचबाट संघीयता कार्यान्वयनको चरणहरु अघि बढिरहेको उहाँको भनाई छ । विकास आयोजना व्यवस्थापनका लागि प्रदेश सरकारले आयोजना बैंक निर्माणको काम गरिरहेको समेत उहाँले बताउनुभयो । मन्त्री खड्काले नागरिकको आवश्यकताको आधारमा विकास आयोजनाहरु निर्माणमा सरकारले काम गर्ने विश्वास समेत व्यक्त गर्नुभयो ।