टि–१० क्रिकेटः न्यु मर्निङ युथ क्लब, टिम एभरेष्ट र रत्ननगर क्रिकेट क्लब बिजयी
१३ मंसिर, हेटौँडा । हेटौंडामा जारी टि–१० क्रिकेट प्रतियोगितामा बिहिबार ३ वटा खेल सम्पन्न भएको छ ।
हेटौंडा ४ हुप्रामा जारी प्रतियोगितामा बिहिबार भएका खेलहरुमा न्यु मर्निङ युथ क्लब, टिम एभरेष्ट र रत्ननगर क्रिकेट क्लब बिजयी भएको छ । दिनको पहिलो खेलमा टिम एभरेष्टले सुकरन टाइर्गसलाई ७ विकेटले पराजित गरेको हो । सुकरन टाइर्गसले दिएको ४७ रनको लक्ष्य टिम एभरेष्टले ८ दशमलब ३ ओभरमा ३ विकेट गुमाउँदै भेटायो । उक्त खेलको म्यान अफ दि म्याच टिम एभरेष्टका नितेश बज्राचार्य घोषित भए ।
यसैगरी दोश्रो खेलमा रत्ननगर क्रिकेट क्लब ४ विकेटले बिजयी भएको छ । नारायणी कलेजले दिएको ५७ रनको लक्ष्य रत्नगरले ८ दशमलब ४ ओभरमा ६ विकेट गुमाएर भेटायो । उक्त खेलमा रत्ननगरका इन्द्रजित यादव म्यान अफ दि म्याच घोषित भएका थिए ।
यस्तै दिनको अन्तिम खेलमा न्यु मर्निङ क्लब २१ रनले बिजयी भएको छ । न्यु मर्निङ क्लबले दिएको ७८ रनको लक्ष्य पछ्याएको पाथिभराले १० ओभर खेल्दै ५ विकेटको क्षतिमा ५६ रन मात्र बनाउन सक्यो । उक्त खेलमा न्यु मर्निङका सरोज यादव म्यान अफ दि म्याच घोषित भए । नेपाल मुस्लिम इत्तेहाद सङ्गठन मकवानपुर जिल्ला कमिटीको आयोजनामा जारी प्रतियोगितामा बागमती प्रदेशका ७ र मधेश प्रदेशका ९ गरी १६ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले एक लाख नगद र उप विजेताले नगद ५० हजारसहित शिल्ड, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् ।