प्राथमिकता निर्धारण गरेर मात्रै योजनामा लगानी गर्नुपर्छः मुख्यमन्त्री लामा

स्वर्णिम खबर
१३ मंसिर २०८१, बिहीबार १७:२७

१३ मंसिर, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले प्राथमिकता निर्धारण गरेर मात्रै योजनामा लगानी गर्नुपर्ने बताउनुभएको छ ।
संघीय मन्त्रालयसँगको सहकार्यमा बागमती प्रदेशको खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयले हेटौंडामा आयोजना गरेको खानेपानी, सरसफाइ तथा स्वच्छतासम्बन्धी अभिमुखीकरण गोष्ठिको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मुख्यमन्त्री लामाले प्राथमिकता निर्धारण गरिएका योजनाको कार्यान्वयनले उद्देश्य प्राप्त गर्ने बताउनुभयो ।
योजना निर्धारण गर्दा खानेपानीलाई पहिलो प्राथमिकतामा राख्नुपर्नेमा उहाँको जोड रहेको थियो । खानेपानीको व्यवस्थापनका लागि प्रदेश सरकारले चलाएको एक घर, एक धारा अभियान व्यवस्थित गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उहाँले उल्लेख गर्नुभयो ।
त्यसैगरी प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री श्याम खड्काले बागमती प्रदेशका सबै स्थानीय तहमा वास प्लान निर्माणका लागि कार्यक्रम आयोजना गरिएको बताउनुभयो । प्रदेशका १ सय १९ स्थानीय तहमध्ये २८ वटा पालिकामा पालिका स्तरीय वास प्लान्ट सम्पन्न भएको, २७ वटामा कार्य भैरहेको, १८ वटामा एजेन्सी रजिष्टार भएको र ४८ वटामा अझै बाँकी रहेको जानकारी दिनुभयो । मन्त्री खड्काले योजना छनौट गर्दा व्यक्तिगत र दलगत स्वार्थभन्दा माथि उठेर सही योजना छनौट गर्न जनप्रतिनिधिलाई आग्रह गर्नुभयो ।
गोष्ठी शुक्रबारसम्म संचालन हुनेछ । कार्यक्रममा प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गंगादत्त नेपाल, जिल्ला समन्वय समितिका प्रमुख ललित घलान, बागमती प्रदेशका मुख्य सचिव डा.हरिप्रसाद लम्साल लगायतले मन्तव्य राख्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*