लोक सेवा आयोग बागमती प्रदेश सदस्यमा खड्का नियुक्त
१३ मंसिर, हेटौँडा । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले लोक सेवा आयोग बागमती प्रदेश सदस्यमा रामबहादुर खड्कालाई नियुक्त गर्नुभएको छ ।
प्रदेश प्रमुख देवकोटाले खड्कालाई विहीबार सदस्यमा नियुक्त गर्नुभएको हो । प्रदेश लोक सेवा आयोग ऐन, २०७६ को दफा ३ को उपदफा १ बमोजिम गठित सिफारिस समितिको सिफारिसमा सोही ऐनको दफा ४ को उपदफा २ बमोजिम खड्कालाई सदस्य पदमा नियुक्त गरिएको हो । तत्कालिन सदस्य सुदर्शन ढकालले कार्तिक ११ गतेदेखि लागु हुने गरी राजिनामा दिएपछि सो पद रिक्त थियो ।
दोलखा जिल्लाका गौरिशंकर गाउपालिका ५ का खड्कालाई प्रदेश लोक सेवा आयोगको सदस्यमा नियुक्तिको लागी मंसिर २ गतेको मन्त्रिपरिषद बैठकको सिफारिस अनुसार प्रदेश प्रमुख देवकोटाले सदस्य पदमा नियुक्त गर्नु भएको हो । उहाँको सपथ ग्रहण अर्को साता हुने प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।