बागमती मन्त्रीपरिषद्ः २ जना सचिवलाई थप जिम्मेवारी दिने निर्णय
१० मंसिर, हेटौँडा । बागमती प्रदेश सरकारले २ जना सचिवलाई थप जिम्मेवारी दिने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संस्कृति तथा पर्यटन मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयमा सचिवको जिम्मेवारी तोकेको हो । सामाजिक विकास मन्त्रालयमा कार्यरत सचिव बद्रीनाथ गैरेलाई युवा तथा खेलकुद मन्त्रालय र उद्योग वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयमा कार्यरत सचिव राजेन्द्र केसीलाई संस्कृति तथा पर्यटन मन्त्रालयको लागि थप जिम्मेवारी तोकेको सरकारको प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिनुभयो ।
प्रदेशमा सचिव स्तरको कर्मचारी अभाव हुँदा दैनिक कार्य प्रभावित भएपछि अन्य मन्त्रालयमा कार्यरत सचिवहरूलाई थप जिम्मेवारी तोकेको उहाँले बताउनुभयो । यसैगरी बैठकले स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समिति सम्बन्धी नियमावली २०८१ र प्रदेश स्वास्थ्य सेवा दोस्रो संशोधन नियमावली २०८१ स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।
यसैगरी बैठकले प्रदेश खेलकुद विकास परिषद्को सदस्यमा ४ जना नियुक्त गरेको छ । परिषद्मा एक जनाको कार्यवधि बाँकी रहेकोले हाललाई ४ जना मात्र नियुक्त गरेको हो । सामाजिक विकास मन्त्रालयको सिफारिस र युवा तथा खेलकुद मन्त्रालयको सहमतिमा ललितपुरका रवि महर्जन, मकवानपुरका संगीत श्रेष्ठ, चितवनकी नबिना खनिया र रामेछापकी कल्पना खड्कालाई सदस्यमा नियुक्त गरिएको मन्त्री लामिछानेले जानकारी दिनुभयो ।