सिस्नेरी घटनामा ज्यान गुमाएका परिवारहरुको एन्फामा बिरोध
६ मंसिर, हेटौँडा । मकवानपुरको सिस्नेरी घटनामा ज्यान गुमाएका खेलाडीका आफन्तले अखिल नेपाल फुटबल फुटबल संघ (एन्फा)को मुख्यालयमा धर्ना दिएका छन् ।
सिस्नेरी घटनामा पिडित परिवारले बिहीबार सातदोबाटोस्थित एन्फा मुख्यालयको गेटमा तालाबन्दी गर्दै धर्ना दिएका हुन् । गत असोज १२ गते इन्द्रसरोवर गाउँपालिकामा गएको पहिरोका कारण वडा नम्बर ३ स्थित वात्सल्यदेवी स्कुलमा रहेको एन्फा सिस्नेरी एकेडेमीमा रहेका ६ किशोर खेलाडीको निधन भएको थियो ।
एन्फाकै कमजोरीका कारण उक्त घटनामा आफ्ना बच्चाहरू गुमाएको भन्दै आफन्तहरुले वर्तमान नेतृत्वलाई आरोप लगाउँदै तालाबन्दी गरेका हुन् ।
उक्त घटनामा एकेडेमीमा रहेका किशोर खेलाडीहरु आदित्य बलम्पाखी, विकल रेग्मी, प्रियान्स आचार्य, दिवस बानियाँ, अनुपम घलान र साइमल योन्जनको निधन भएको थियो । यस्तो घटना भइसक्दा पनि एन्फाले कुनै छानबिन नगरेको र नेतृत्वले ज्यान गुमाउनेका आफन्तलाई अझै पीडा दिएको भन्दै दुःख व्यक्त गरेका छन् । साथै आफन्तहरुले यस घटनाको सत्य तथ्य छानबिन हुनुपर्ने माग राखेका छन् ।