राजपत्रांकित प्रथम श्रेणीका अधिकृतलाई प्रदेश मन्त्रालयको सचिवको जिम्मेवारीमा खटाउने
६ मंसिर, हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेशमा सरुवा भई आएका निजामति सेवाका राजपत्रांकित प्रथम श्रेणीका अधिकृतलाई प्रदेश मन्त्रालयको सचिवको जिम्मेवारीमा खटाउने निर्णय गरेको छ ।
बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालयमा रिक्त रहेका सचिव पदमा राजपत्रांकित प्रथम श्रेणीका अधिकृत खटाउने निर्णय गरेको हो ।
बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव रुद्र प्रसाद लामिछानेलाई सहकारी तथा गरिबी निवारण मन्त्रालयमा पठाउने निर्णय गरेको छ । उहाँ केही समय अघि मात्रै युवा तथा खेलकुद मन्त्रालयबाट मुख्यमन्त्री कार्यालय तानिनु भएको थियो । संघबाट आउनुभएका वेद प्रसाद भण्डारीलाई मुख्यमन्त्री कार्यालयको प्रशासनिक जिम्मेवारी प्रदान गरिएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री सुरजचन्द्र लामिछानेले बताउनुभयोे ।
बैठकले प्रदेश नीति तथा योजना आयोगका सचिव केशव प्रसाद सुवेदीलाई मुख्यमन्त्री कार्यालयको समेत जिम्मेवारी थप गरेको छ । बैठकले एसियाली विकास बैंक एडिबिको क्रृण सहयोगमा सञ्चालन हुने कार्यक्रमका लागि सहमति प्रदान गर्ने निर्णय गरेको प्रवक्ता लामिछानेले जानकारी दिनुभयो ।
मन्त्रिपरिषद् बैठकले स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समिति सम्बन्धी नियमावली २०८१ र प्रदेश स्वास्थ्य सेवा दोस्रो संसोधन नियमावली २०८१ स्वीकृत गर्दै आवश्यक छलफलका लागि मन्त्रिस्तरीय समितिमा पठाउने निर्णय गरेको छ ।