जनकपुर बोल्टस र म्यानेजमेन्टबीच शैक्षिक पार्टनरको लागि प्रायोजन सम्झौता

स्वर्णिम खबर
५ मंसिर २०८१, बुधबार १८:१६

५ मंसिर, हेटौँडा । नेपाल प्रिमियर लिग (एनपीएल) को टोली जनकपुर बोल्टस र हेटौँडा स्कूल अफ म्यानेजमेन्ट बीच शैक्षिक पार्टनरको लागि प्रायोजन सम्झौता भएको छ ।
मकवानपुर जिल्लामै उत्कृष्ट शिक्षा प्रदान गर्दै आइरहेको म्यानेजमेन्ट र जनकपुर बोल्टसबीच बुधबार एक कार्यक्रमको बीच सम्झौता भएको हो । जनकपुर बोल्ट्सका महाप्रबन्धक निरज खतिवडा र म्यानेजमेन्टका प्रिन्सीपल पुरनबहादुर जोशीले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो ।
जनकपुर बोल्ट्सका खेलाडी अनिल साह र शुभ कंशाकारको समेत उपस्थितिमा सम्झौतामा हस्ताक्षर गरिएको हो । सम्झौता पछि बोल्नुहुँदै म्यानेजमेन्टका प्रमुख जोशीले जनकपुर बोल्टस मार्फत एनपिएलमा जोडिन पाउँदा खुशी लागेको प्रतिक्रिया दिनुभयो । भारतको क्रिकेट लिग आइपीएल जस्तै एनपिएल मार्फत पनि नेपाली क्रिकेटले नयाँ उचाई प्राप्त गर्नेमा उहाँले विश्वास व्यक्त गर्नुभयो ।


यसैबीच म्यानेजमेन्टले अनिल साहलाई आफ्नो ब्राण्ड एम्बेसेडर समेत नियुक्त गरेको छ । शाह म्यानेजमेन्टकै पूर्व विद्यार्थी समेत हुन । कार्यक्रममा क्रिकेटर साहले मकवानपुर जिल्लाबाटै आफुले व्यवसायिक क्रिकेटको सुरुवात गरेको बताउनुभयो । कडा अनुशासनको सिद्धान्तलाई आफूले क्रिकेटमा लागु गरेकै कारण सफलता मिलेको उहाँले बताउनुभयो ।
क्यानको आयोजनामा ८ टोलीको सहभागिता रहेको एनपिएल प्रतियोगिता मंसिर १५ देखि पुस ६ गते सम्म हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*