समावेशी र समृद्ध आधुनिक नेपाल बनाउने काममा सबै जुट्नुपर्छः राष्ट्रपति पौडेल
५ मंसिर, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सत्ता र शक्तिमा बस्नेको कमजोरीले लोकतन्त्रको शास्वत मूल्य, मान्यता र पवित्रतालाई धुमिल बनाउन दिनु नहुने बताउनुभएको छ ।
बुधवार शितल निवासमा आयोजित नेपालका निधी पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रको लक्ष्य पूरा गर्न शासन व्यवस्थालाई पारदर्शी, जवाफदेही, न्यायपूर्ण बनाउनुपर्ने उल्लेख गर्नुभयो ।
उहाँले समावेशी र समृद्ध आधुनिक नेपाल बनाउने काममा सबै जुट्नुपर्ने अहिलेको आवश्यकता रहेको बताउनु भयो । उहाँले पछाडि परेका नागरिक, क्षेत्र र वर्गको हित तथा नागरिकको जीवनस्तरमा सुधार गरेर यही व्यवस्थामा मात्रै मेरो भविष्य सुरक्षित छ भनेर जनतालाई भरोसा जागृत गराउनु नै सम्पूर्ण लोकतान्त्रिक गणतन्त्रको वास्तविक लक्ष्य भएको उल्लेख गर्नुभयो ।
राष्ट्रपति पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्न र जनताको स्वतन्त्रताका लागि नेताहरुले गरेको त्याग, संघर्ष र समर्पण अतुलनीय रहेको उल्लेख गर्नुभयो ।