नेपाल संवत नेपालको राष्ट्रिय र मौलिक संवत होः राष्ट्रपति पौडेल

स्वर्णिम खबर
४ मंसिर २०८१, मंगलवार १७:२४

४ मंसिर, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल संवत नेपालको राष्ट्रिय र मौलिक संवत भएको बताउनुभएको छ ।
मंगलवार शंखधर साख्वाःलाई राष्ट्रिय विभूति घोषणा गरेको रजत वर्षको अवसरमा आयोजित शंखधर दिवस कार्यक्रममा बोल्नुहुँदै राष्ट्रपति पौडेलले ऐतिहासिक कालदेखि नेपाली जनताको धार्मिक सांस्कृतिक र सामाजिक जीवनसँग सामिप्य रहँदै आएको नेपाल संवत नेपालको राष्ट्रिय र मौलिक संवत भएको बताउनुभयो । उहाँले आफ्नै नामबाट स्थापित विश्वको एउटै मात्र संवत नेपाल संवत भएकाले सम्पूर्ण नेपाली जनताको गौरवमय राष्ट्रिय सम्पदा भएको बताउनु भयो ।
बहुभाषिक, बहुसांस्कृतिक र बुहजातिय मुलुक नेपालको संस्कृती विविधतालाई एकताको सूत्रमा बाँध्न नेपाल संवतको भुमिका महत्वपूर्ण रहेको उहाँको भनाई छ । राष्ट्रपति पौडेलले मुलुकको पहिचान र राष्ट्रिय जनजीवनसँग लामो समय सामिप्य रहँदै आएको नेपाल संवतको आरम्भ गर्ने शंखधर साख्वाः लोक कल्याण एवं परोपकारी भावनाका शिखर पुरुष भएको उल्लेख गर्नुभयो ।
राष्ट्रपति पौडेलले नेपाल संवतको ऐतिहासिक सम्बन्धित कर्मगाथा आफैँमा गरिमामय रहेको उल्लेख गर्नुभयो । उहाँले लिञ्छविकालिन राजा बलदेवको समयमा ऋणमा डुबी आर्थिक संकटको सामना गरिरहेका तत्कालिन गरिब, किसान मजदुर जनतालाई शंखधर साख्वाःले आफ्नै सम्पतिबाट ऋणबाट ऋण मुक्त गरी नयाँ नेपाल स्थापना गरी नेपाल संवत स्थापना गरेको उपलक्ष्यमा सम्वतको प्रारम्भ भएको बताउनु भयो ।
शंखधर साख्वाःले स्थापना गर्नुभएको लोक कल्याणकारी कार्य तत्कालिन समाजको लागि क्रान्तिकारी कदम भएको राष्ट्रपति पौडेलले बताउनुभयो ।
राष्ट्रपति पौडेलले शंखधरकोे यो कदम आजका दिन पनि सबैका लागि पे्ररणादायी रहेको बताउनु भयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*