पूर्वसभामुख ढुंगानाको राजकीय सम्मानका साथ अन्त्येष्टि
३ मंसिर, काठमाडौँ । पूर्वसभामुख दमननाथ ढुङ्गानाको राजकीय सम्मानका साथ आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
त्यस अवसरमा नेपाली सेनाको एक टुकडीले दिवङ्गत ढुङ्गानाको सम्मानमा१७ तोपको सलामी अर्पण गरेको थियो । ढुङ्गानाको पार्थिव शरीरमा उहाँका छोराहरू निमेष र निशेषले दागबत्ती दिनुभएको छ । कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत पूर्वसभामुख ढुङ्गानाको पुरानो बानेश्वरमा रहेको फ्रन्टलाइन अस्पतालमा ८३ वर्षको उमेरमा निधन भएको थियो ।
ढुङ्गानाको पार्थिव शरीरलाई ज्ञानेश्वरमा रहेको सानो गौचरणमा राखेर श्रद्धाञ्जली समेत अर्पण गरिएको थियो । श्रद्धाञ्जली अर्पण कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वसभामुख ढुंगानाको आर्दशबाट आफूहरु प्रेरित भइरहने बताउनुभयो । जनप्रतिनिधिहरुको संस्था संसदलाई कसरी सुदृढ गर्ने भन्ने कुरामा ढुंगानासँग उन्नत र व्यवस्थित सोच रहेको उहाँको भनाई थियो ।
त्यसैगरी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्व. दमननाथ ढुंगानाले सरकार बहुमतको र संसद विपक्षीको भन्नेकुरा स्थापित गराउनुभएको बताउनुभयो । उहाँले नेपाली काँग्रेसबाट सभामुख बन्नुभएको र निष्पक्ष रुपमा काम गर्नुभएको उल्लेख गर्नुभयो ।
ढुङ्गानाले नेपाली लोकतन्त्र र संसदीय व्यवस्थामा गरेको योगदानलाई सम्मान गर्नुपर्ने तर अन्तिम समयमा बिदाको घोषणा गरेको भन्दै सामाजिक सञ्जालबाट सरकारको चर्को आलोचना भएको छ ।