बागमती प्रदेश लोक सेवा आयोगको काम प्रशंसनीय छः प्रदेश प्रमुख देवकोटा
२ मंसिर, हेटौँडा । बागमती प्रदेशका प्रदेश प्रमुख दिपकप्रसाद देवकोटाले प्रदेश लोक सेवा आयोगको काम प्रशंसनीय रहेको बताउनुभएको छ ।
वार्षिक पदपूर्ति कार्यतालिका, पाठ्यक्रम निर्माण, परीक्षा सञ्चालन, नतिजा प्रकाशन जस्ता क्षेत्रहरुमा आयोगको कार्य प्रगति सराहनीय रहेको उहाँले बताउनुभयो । बागमती प्रदेश लोक सेवा आयोगको पाँचौ स्थापना दिवसको अवसरमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रदेश प्रमुख देवकोटाले कर्मचारी र भौतिक पूर्वाधारको अभावको समस्याबाट आयोग पीडित रहेको उल्लेख गर्नुभयो ।
आयोगको प्रभावकारी कार्यसम्पादनमा रहेका कानुनी जटिलताहरुलाई फुकाउन पनि उहाँले प्रदेश सरकारसंग आग्रह गर्नुभयो । प्रदेश प्रमुख देवकोटाले अरु प्रदेशको लागि पनि उदाहरण हुने गरी बागमती प्रदेश लोक सेवा आयोगले काम गर्नुपर्नेमा जोड दिनुभयो ।
यसैगरी कार्यक्रममा बोल्नुहुँदै मुख्यमन्त्री बहादुर सिं लामाले लोकसेवा आयोगको विश्वसनीयतालाई उच्च राख्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो । आयोग प्रति सरकारले कुनै पनि आग्रह, पूर्वाग्रह नराख्ने समेत उहाँले बताउनुभयो । प्रदेश लोक सेवा आयोगलाई प्रभावकारी बनाउन र गरिमा उच्च बनाउन सरोकारवाला सबै एकजुट हुन जरुरी रहेको उहाँको भनाई छ ।
त्यसैगरी प्रदेशसभाका सभामुख भुवन पाठकले अहिलेको युवा पुस्ताको सरकारी प्रशासन प्रति आर्कषण घट्दै गइरहेको बताउनुभयो । मुलुकको समृद्धिमा कर्मचारीतन्त्रको महत्वपूर्ण भुमिका रहेपनि सरकारी प्रशासन प्रति आकर्षण घट्नु दुःखद भएको उहाँको भनाई छ । सभामुख पाठकले आयोगलाई शक्तिशाली बनाउन कर्मचारी बढुवा र सरुवामा आयोगको भुमिका स्थापित गर्नुपर्ने बताउनुभयो ।
आयोगका अध्यक्ष महेश्वर श्रेष्ठको सभाध्यक्षतामा भएको कार्यक्रममा आयोगकी सदस्य शर्मिला नेउपानले आयोगले गरेका कामकारवाहीको विवरण प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरु, प्रदेशसभाका उपसभामुख अप्सरा चापागाई, मन्त्रालयका सचिवहरु लगायतको आतिथ्यता रहेको थियो । प्रदेश लोक सेवा आयोग २०७६ को दफा ४ मा भएको व्यवस्था अनुसार २०७६ साल मङ्सिर २ गते बागमती प्रदेश लोक सेवा आयोग गठन भएको थियो ।