“सूचना प्रविधिमा आएको विकाससँगै छापा पत्रकारितामा चुनौति देखियो”
१ मंसिर, काठमाडौँ । सूचना प्रविधिमा आएको विकाससँगै छापा पत्रकारितामा चूनौति देखिएको वक्ताहरुले बताएका छन् ।
प्रविधिको विकासले निम्तयाएको चूनौतिलाई चिर्न छापा माध्यमहरूले प्रदान गर्ने समाचारका विषयवस्तू, प्रस्तूति शैली समयानुकुल परिष्कृत हुँदै जानुपर्नेमा उनीहरुको जोड रहेको छ ।
समृद्ध समाज राष्ट्रिय दैनिकको १५ औं वार्षिकोत्सवको अवसरमा आयोजित छापा पत्रकारिता चौतर्फी चूनौतिका बीच अब के गर्ने विषयक संवाद कार्यक्रममा सहभागिता जनाउँदै पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्ष एवं गोरखापत्र दैनिकका संवाददाता राममणी दाहालले तीनै तहको सरकारले निति निर्माण गरेर छापा पत्रकारिता दिगोपनाको लागि सोच्नु पर्ने अवस्था आएको बताउनुभयो ।
छापा माध्यम आर्थिक रुपमा सबल बनाउन स्थानिय र प्रदेश सरकारले पनि लोककल्याणकारी विज्ञापन दिनु पर्ने उहाँको भनाई थियो । पत्रकारिता क्षेत्रमा संघीयताको महसुस हुन नसक्नु विडम्बना भएको उहाँले धारणा राख्नुभयो ।
छलफलमा सहभागिता जनाउँदै युवा पत्रकार सुनिता विष्टले छापा पत्रकारिता वर्तमान अवस्थामा चूनौतिपूर्ण रहेकाले फरक शैलिमा लैजान आवश्यक रहेकोमा जोड दिनुभयो । पत्रकार विष्टले महिलाहरुको आकर्षण रेडियो टेलिभिजनमा देखिएपनि छापा पत्रकारिता प्रति रुचि घट्दै गएको तथ्य राख्नुभयो ।
त्यसैग्री सञ्चार रजिष्टार रेवति सापकोटाले देश प्रादेशिक संरचनामा गएको ५ वर्ष बितिसक्दा समेत छापा माध्यमलाई प्रादेशिक संरचनामा लैजान नसकेको स्वीकार गर्नुभयो । हालसम्म पनि छापाखाना तथा प्रकाशन ऐन २०४८ संसोधन हुन नसक्दा छापा माध्यम संघीयतामा जान नसकेको उहाँले बताउनुभयो ।
छलफलमाथि पत्रकार खुशराज दाहालले समिक्षात्मक टिप्पणी राख्नुभएको थियो । वार्षिकोत्सव समारोहमा शुक्रबार आयोजित निबन्ध लेखन प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने विद्यार्थीलाई नगद सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।