हस्तकला क्षेत्र देशलाई आर्थिक समृद्धिमा लैजाने महत्वपूर्ण क्षेत्रः सभापति श्रेष्ठ
३० कार्तिक, हेटौँडा । बागमती प्रदेश सभाका उद्योग पर्यटन तथा वातावरण समितिका सभापति आनन्द कुमार श्रेष्ठले हस्तकला क्षेत्र देशलाई आर्थिक समृद्धिमा लैजाने महत्वपूर्ण क्षेत्र भएको बताउनुभएको छ ।
जनपत्र मिडिया प्रालिको आयोजनामा प्रदेश हस्तकलाग्राम स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन कार्यान्वयनका बारेमा जानकारी दिने उद्देश्यले आयोजित छलफल कार्यक्रममा बोल्दै सभापति श्रेष्ठले प्रदेशको अर्थतन्त्रमा सुधार ल्याउन ऐनले महत्वपूर्ण भूमिका खेलने दाबी गर्नुभयो । सभापनि श्रेष्ठले हस्तकलाको प्रवर्धनका लागि ऐन, कानून आवश्यक देखेर नै सातै प्रदेशमा पहिलो पटक बागमती प्रदेशले यस सम्बन्धि ऐन बनाएको उल्लेख गर्नूभयो ।
बागमती प्रदेशको कला कौशल, सास्कृतिक पक्ष अलौकिक रहेको उहाँको भनाई छ । विद्येयक बनाउनु अघि सम्बन्धित पक्षसंग सल्लाह सुझाव लिएको बताउँदै सभापति श्रेष्ठले कार्यान्वयनका क्रममा कमि कमजोरी देखिए संसोधन गर्दै लैजाने स्पष्ट पार्नुभयो । बागमती प्रदेश सरकारको पाइलट प्रोजेक्ट रहेको हस्तकलाग्राम सन्चालनका लागि स्थानीय सरकारसँग समन्वयको काम भैरहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा बोल्दै हस्तकला महासंघका केन्द्रिय सदस्य ज्ञानभक्त लामाले हस्तकलाका विषयमा राज्यलाई बुझाउनै नसकिरहेको सन्दर्भमा बागमती प्रदेश सरकारले ऐन बनाउनु ठूलो उपलब्धी रहेको बताउनुभयो । ऐन कार्यान्वयनमा आएसँगै हस्तकला क्षेत्रमा देखिएका समस्या निराकरण हुने उहाँको विश्वास रहेको छ ।
हस्तकला महासंघकी सल्लाहकार शर्मिला डंगोलले राज्यलाई विश्वसामु परिचित गराउने प्रमुख माध्यम हस्तकला रहेको बताउनुभयो । एउटा जिल्लामा उत्पादन भएको सामग्री अर्को जिल्लामा लैजादा ठाउँ ठाउँमा राजश्व तिर्नुपर्ने अवस्थाको अन्त्य गर्न समेत उहाँले आग्रह गर्नुभयो ।
हस्तकलालाई बागमती प्रदेशको अर्थतन्त्रको प्रमखु क्षेत्रको रूपमा विकास गर्ने उद्देश्यले निर्माण गरिएको ऐन प्रदेश प्रमुखबाट प्रमाणिकरण भई राजपत्रमा प्रकाशनमा आएको छ ।