हेटौंडाको १२ नंं. वडामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
३० कार्तिक, हेटौँडा । मंसिर १६ गते हुन लागेको स्थानीय तह उपनिर्वाचनका लागि हेटौंडा उपमहानगरपालिकाको १२ नं. वडामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
रिक्त रहेको वडा अध्यक्ष पदको निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । शुक्रबार मुख्य निर्वाचन अधिकृत अवानी मैनाली भट्टराईले वडा कार्यालय भवनमा बोर्ड राख्दै कार्यालय स्थापना भएको घोषणा गर्नुभयो । जिल्ला समन्वय समिति प्रमुख ललित घलान, हेटौडा उपमहानगरपालिका प्रमुख मिनाकुमारी लामा, प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवाल, जिल्ला सुरक्षा निकायका प्रमुखलगायतको उपस्थितिमा उपनिर्वाचनका लागि हेटौंडा उपमहानगरपालिकाको १२ नम्बर वडा कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।
यस वडाबाट नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पदमा विजयी भएका ललित बहादुर घलान जिल्ला समन्वय समितिका प्रमुखमा निर्वाचित भएसँगै अध्यक्ष पद रिक्त रहेको थियो ।
निर्वाचन कार्यतालिका अनुसार मंसिर २ गते आइतबार मनोनयन दर्ता, उम्मेदवारको सूचि प्रकाशन, मंसिर ३ गते उम्मेदवारको विरोधमा उजुरी, उजुरी उपर जाँचबुझ र निर्णय, मंसिर ४ गते उम्मेदवारको नामावली प्रकाशन, ५ गते उम्मेदवारको नाम फिर्ता, अन्तिम नामावली प्रकाशन गर्ने, उम्मेदवालरलाई निर्वाचन चिन्ह् प्रदान गर्ने तालिका रहेको छ ।
४ हजार ४ सय २८ जना पुरुष र ३ हजार ६ सय २५ जना महिला गरी कुल ८ हजार ५३ मतदाता रहेको यस वडामा मतदानका लागि दुई स्थानमा मतदान केन्द्र स्थापना गरिएको छ । प्रतिभा आधारभूत विद्यालय सिग्रेनीमा ५ वटा मतदान केन्द्र र विष्णु ज्योती आधारभूत विद्यालय भोर्लेमा ४ वटा मतदान केन्द्र रहेको वागमती प्रदेश निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले बताउनुभयो ।