बुटवल–नारायणगढ सडकको ठेक्का तोड्नुको विकल्प छैनः प्रधानमन्त्री ओली
२९ कार्तिक, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवल–नारायणगढ सडकको ठेक्का तोड्नुको विकल्प सरकारसँग नभएको बताउनुभएको छ ।
प्रधानमन्त्री ओलीले बिहीवार नारायणगढ–बुटवल सडकखण्ड क्षेत्रमा पर्ने जिल्लाका जनप्रतिनिधिहरुले निर्माण कार्यमा लापरवाही भएको विषयको ध्यानाकर्षण पत्र बुझ्दै यस्तो बताउनुभएको हो । रुपन्देही, पश्चिम नवलपरासी र पूर्वी नवलपरासीका जनप्रतिनिधिहरुले प्रधानमन्त्री ओलीसँग भेटमा ध्यानाकर्षण गराएका हुन् । ध्यानाकर्षणपछि बोल्दै प्रधानमन्त्री ओलीले चार वर्षमा सक्नुपर्ने काम ६ वर्षसम्म लाग्दा पनि नसकिएको र अहिले काम ठप्प हुनु राम्रो नभएको बताउनु भयो ।
उहाँले सरकारले थप गरेको म्यादमा पनि एक वर्षमा सकिन लागेको भन्दै ५२ प्रतिशत काम ६ वर्षमा भयो भने अब ४८ प्रतिशत काम बाँकी एक वर्षभित्र सम्पन्न गर्न सम्भव नभएको बताउनु भयो । प्रधानमन्त्री ओलीले एडिबीले २०२६ मा दिने रकम क्लोजिङ हुने अवस्था रहेको उल्लेख गर्नुभयो । उहाँले विश्वनिय रुपमा कम्पनीले काम गर्ने भए काम गर्न केही समय दिने तर काम गर्न नसके ठेक्का तोडर नयाँ प्रक्रियामा जानुपर्ने बताउनु भयो ।
यसैगरी भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले प्रधानमन्त्रीको निर्देशनको आधारमा ठेक्का तोडेर मन्त्रालय अघि बढ्ने बताउनुभयो ।उहाँले मन्त्रालयले बुटवल–नारायणगढ सडक निर्माण कम्पनीलाई लक्ष्य निर्धारण गरेर तिहारपछिबाट काम गर्ने निर्देशन दिएपनि काम अहिलेसम्म थालनी नभएको बताउनु भयो । उहाँले एडिबीको ऋणबाट सञ्चालित आयोजना भएकाले चीनमा निर्माण कम्पनीको कार्यालयमा गएर ताकेता समेत गरिएको उल्लेख गर्नुभयो ।
मन्त्री दाहालले डिसेम्बरबाट सडक निर्माणको काम थलनी गरेको अवस्थामा भने त्यही निर्माण कम्पनीलाई काम गर्ने दिने तयारी मन्त्रालयले गरेको पनि बताउनुभयो ।