सरकारको निर्देशनअनुसार १५ दिनभित्र उद्योगीहरुले वक्यौता नतिरे पुनः लाइन काटिन्छः कुलमान घिसिङ

स्वर्णिम खबर
२८ कार्तिक २०८१, बुधबार १६:२७

२८ कार्तिक, काठमाडौँ । विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले १५ दिनभित्र उद्योगी व्यवसायीहरुले सरकारको निर्देशनअनुसार वक्यौता नतिरे उद्योगहरूको लाइन पुनः काटिदिने बताउनुभएको छ ।
बुधवार प्राधिकरणमा पत्रकार सम्मेलन गर्दै कार्यकारी निर्देशक घिसिङले नेपाल सरकारले स्पष्ट रुपमा १५ दिनभित्र उद्योगीहरुसँग विद्युत वक्यौता उठाउन निर्देशन दिएको भन्दै त्यसको कार्यान्वयन प्राधिकरणले उद्योगको लाइन जोडेर शुरु गरेको बताउनुभएको हो । उहाँले नेपाल सरकारको निर्देशनअनुसार उद्योगी व्यवसायीहरुले डेडिकेटेड र ट्रंक लाइनको बाँकी वक्यौता १५ दिनभित्र बुझाउनुपर्ने बताउनुभयो ।
उहाँले १५ दिनको अवधिमा पनि वक्यौता नबुझाए प्राधिकरण आफ्नो प्रक्रियामा फेरि पनि लाग्ने चेतावनी दिनुभयो । निर्देशक घिसिङले विद्युत प्राधिकरण ऐन, २०४१ मा नेपाल सरकारको निर्देशन पालना गर्नुपर्ने कानूनी व्यवस्था रहेको भन्दै त्यो व्यवस्थालाई सम्मान गर्दै कानूनी रूपमा काटिएको लाइन नेपाल सरकारको प्रशासनिक निर्णयबाट जोड्ने चरणमा रहेको बताउनु भयो ।
कार्यकारी निर्देशक घिसिङले डेडिकेटेड र ट्रंक लाइन विवादमा प्राधिकरणले यसअघि काटेको बिल नै ठिक भएको जिकिर गर्नुभयो । उहाँले मन्त्रिपरिषद् बैठकले आईतवार टीओडी मिटरका आधारमा १५ दिनभित्र डेडिकेटेड र ट्रंक लाइनको महशुल उठाउने निर्णय गरे पनि आफूहरूले पहिले काटेको बिल नै सही भएकाले नयाँ गणना नगर्ने बताउनु भयो ।
उहाँले अहिलेसम्म प्राधिकरणले काटेको बिल कुनैपनि निकायले ठिक छैन नभनेको भन्दै त्यही बिलका आधारमा वक्यौता रकम उठाउने बताउनु भयो । प्राधिकरणले विगतका काटेको टीओडी डाटा कुनै संशोधन गर्नु नपर्ने दाबी समेत उहाँले गर्नुभयो ।
उहाँले कुनैपनि विषयमा विचलित नभई डेडिकेटेड र ट्रंक लाइनको बाँकी विद्युत महशुल उठाउने प्रतिवद्धता जनाउनु भयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*