बागमतीका मुख्यमन्त्री लामाको १०० दिनको उपलब्धि सार्वजनिक

स्वर्णिम खबर
२८ कार्तिक २०८१, बुधबार १४:४३

२८ कार्तिक, हेटौँडा । बागमती प्रदेश सरकारले आफ्नो १०० दिनको उपलब्धि सार्वजनिक गरेको छ ।
बुधबार पत्रकार सम्मेलन गरी मुख्यमन्त्री बहादुर सिं लामाले आफु मुख्यमन्त्री बनेको १०० दिनमा कृषि, स्वास्थ्य, शिक्षा, खेलकुद लगायत सार्वजनिक सेवा प्रवाह, प्रशासनिक खर्च व्यवस्थापन र विपद्को क्षेत्रमा उल्लेख्य काम गरेको दाबी गर्नुभएको छ । प्रदेशभित्र विपद् द्रुत प्रतिकार्य समुह गठन देखि गत असोज ११ र १२ गतेको बाढीपहिरोको कारण घाइते भएकाहरुको निःशुल्क उपचार गरिएको विषयलाई मुख्यमन्त्री लामाले आफ्नो एक सय दिनको उपलब्धिमा समावेश गर्नुभएको छ ।
सार्वजनिक सेवा प्रवाहमा नागरिकको सहज पहुँच स्थापित गर्न विषयगत कार्यालयको स्थापनामा जोड दिइएको मुख्यमन्त्री लामाले बताउनुभयो । भौतिक पूर्वाधार विकासको कार्यलाई थप प्रभावकारी बनाइएको पनि उहाँले दाबी गर्नुभयो ।


यसैगरी मुख्यमन्त्री लामाले संविधानमा व्यवस्था भएका तर अभ्यास गर्न नपाएका विषयहरुको समाधानको लागि संघीय सरकारलाई आग्रह गर्ने काम भइरहेको बताउनुभयो । मन्त्रालयगत समस्याहरुको पहिचान गरी समाधानको निम्ति नीति सुधारको प्रक्रिया थाल्न सम्बिन्धत मन्त्रालयहरुलाई निर्देशन दिएको पनि उहाँले बताउनुभयो । मुख्यमन्त्री लामाले प्रदेशको शासकीय कामकारवाहीलाई विद्युतीकरण गर्न सरकार लागिपरेको समेत दाबी गर्नुभयो ।
लामा साउन ९ गते नेपाली कांग्रेस र नेकपा एमालेको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*