सरकारको निर्णय कार्यान्वयन नगर्ने कुरा क्षम्य हुँदैनः सञ्चारमन्त्री गुरुङ
२६ कार्तिक, काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले सरकारको निर्णय कार्यान्वयन नगर्ने कुरा क्षम्य नहुने बताउनुभएको छ ।
सोमवार मन्त्रीपरिषद् बैठकमा सञ्चारकर्मीहरुले विद्युत आपूर्ति बन्द गरेका उद्योगहरुको लाइन जोड्ने सरकारको निर्णयमाथि नेपाल विद्युत प्राधिकरणका कर्मचारीले निर्णय नमान्ने भनेका छन् भन्ने प्रश्नको जवाफ दिने क्रममा उहाँले सो चेतावनी दिनुभएको हो ।
उहाँले सरकारले गरेका निर्णयहरुमा कर्मचारीले आफ्ना मत राख्न पाउने तर निर्णय कार्यान्वयन गर्दिन भन्नेकुरा क्षम्य नहुने बताउनु भयो । उहाँले उद्योगहरुमा विद्युत बन्द गर्दा मुलुकको औद्योगिक क्षेत्रलाई असर गरेको, रोजगारी, राजश्वमा प्रभाव परेको भन्दै सरकारले सो निर्णय लिएको स्पष्ट पार्नुभयो ।
मन्त्री गुरुङले सरकारले डेडिकेटेड फिडर र ट्रंक लाइनको विद्युत महशुल पनि बिलअनुसार १५ दिनभित्र बुझाउन सरकारले निर्देशन दिएको बताउनु भयो ।