कांग्रेस र एमालेले बागमतीको १३ वटै जिल्लामा संयन्त्र निर्माण गर्ने
२५ कार्तिक, काठमाडौँ । नेपाली कांग्रेस र नेकपा एमालेबीच बनेको बागमती प्रदेशस्तरीय दुई दलीय संयन्त्रले प्रदेशका जिल्लाहरुमा पनि संयन्त्र निर्माण गर्न निर्देशन दिएको छ ।
प्रदेशस्तरीय दुई दलीय संयन्त्रको आज ललितपुरमा बसेको पहिलो बैठकले यस्तो निर्देशन दिएको हो । नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको सभाध्यक्षतामा बसेको बैठकले बागमती प्रदेशका तेह्रवटै जिल्लामा संयन्त्र निर्माण गर्न दुबै दलका जिल्ला तहसँग समन्वय गरी यथाशिघ्र गठन गर्न निर्देशन दिने निर्णय गरेको संयन्त्रका सचिव राजु नेपालले जानकारी दिनुभयो ।
बैठकले दुई दलले एक÷एक महिना पालो पालो बैठकको संयोजन गर्ने र मंसिर मसान्तसम्मको बैठकको संयोजन नेपाली कांग्रेसले गर्ने निर्णय गरेको छ । बागमती प्रदेश सरकारका मन्त्रीहरुको संयुक्त बैठक आगामी २०८१ मंसिर ३ गते हेटौंडामा बसी बागमती प्रदेश सरकार गठन भएको एक सय दिनको उपलब्धी र आगामी कार्यक्रमका बारेमा जानकारी लिने निर्णय गरेको छ ।