अमेरिकाको राष्ट्रपतिमा ट्रम्पको पुनरागमनले संशय पैदा गरेको छः अध्यक्ष दाहाल

स्वर्णिम खबर
२५ कार्तिक २०८१, आईतवार १२:३४

२५ कार्तिक, हेटौँडा । पूर्व प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नेपालको राष्ट्रिय स्वाधिनताको प्रश्न पेचिलो बन्दै गएको बताउनुभएको छ ।
राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति असाधारण ढंगको भएकाले राष्ट्रिय स्वाधिनताको प्रश्न विगतको भन्दा बढी संवदेनशील भएको उहाँले बताउनुभयो ।
प्रेस सेन्टर नेपाल मकवानपुरले थाहा नगरपालिकाको ब्रजबाराहीमा आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्नुहुँदै अध्यक्ष दाहालले विभिन्न शक्ति केन्द्रहरुको दबाब नेपालमा बढ्दै गइरहेको बताउनुभयो । अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको पुनरागमनलेल विश्व राजनीतिमा नै संशय पैदा गरेको उहाँको भनाई छ ।
अध्यक्ष दाहालले विश्वको परिस्थितिलाई हेरेर एकथरी बुद्धिजीवीहरुले तेस्रो विश्वयुद्धको समेत सम्भावना औंल्याएको जिकिर गर्नुभयो ।
यसैगरी अध्यक्ष दाहालले वर्तमान सरकारले सत्ता बचाउनको लागि राष्ट्रिय स्वाधिनताको सौदाबाजी गर्न खोजेको आरोप लगाउनुभएको छ । उहाँले अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता सरकारले गर्न सक्ने आशंका गर्नुभयो ।
विगतमा केपी शर्मा ओलीले सम्झौताको लागि सैद्धान्तिक सहमति समेत दिइसकेको भन्दै अब सम्झौता गर्न सक्नेमा अध्यक्ष दाहालले आशंका व्यक्त गर्नुभयो ।
अध्यक्ष दाहालले समावेशिता र संघीयताको रक्षा गर्न आफ्नो पार्टी सजग र सर्तक रहेको पनि बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*