प्रधानमन्त्री ओलीबाट भ्रष्टचारलाई संस्थागत गर्ने काम भयोः अध्यक्ष दाहाल
२४ कार्तिक, हेटौँडा । पूर्व प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अहिलेको प्रधानमन्त्रीले भ्रष्टचारलाई संस्थागत गर्न खोजेको आरोप लगाउनुभएको छ ।
अध्यक्ष दाहालले सरकारी जग्गा जालझेल गरेको आरोपमा हिरासतमा पुगेको व्यक्तिबाट जग्गा दान लिएर वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टचारलाई संस्थागत गर्न खोजेको उल्लेख गर्नुभयो ।
वाईसिएल नेपाल थाहानगर कमिटीको दोस्रो सम्मेलनलाई शनिबार पालुङलाई सम्बोधन गर्नुहुँदै उहाँले कांग्रेस र एमालेको सरकार गरिब जनताको नभई दलाल पुजीपतिको सरकार भएको टिप्पणी गर्नुभयो ।अध्यक्ष दाहालले वर्तमान सरकारलाई देश लोडसेडिङ मुक्त भएको पनि पटक्कै मन नपरेको बताउनुभयो । देश चरम लोडसेडिङमा पुगेका बेला आफूले लोडसेडिङ मुक्त गर्नका लागि ऊर्जा मन्त्रीमा जनार्दन शर्मा र विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई नियुक्त गरेर अहिलेको अवस्थामा ल्याएको समेत उहाँले उल्लेख गर्नुभयो ।
अध्यक्ष दाहालले भ्रष्टाचार तथा बेथिती विरुद्ध आफ्नो नेतृत्वमा नयाँ आन्दोलन छिट्टै सुरु गर्ने बताउनुभयो । अन्य पार्टीले पनि नयाँ आन्दोलनको नेतृत्व लिन आग्रह गरिरहेको बताउँदै उहाँले सबै उत्पीडित वर्ग समुदायको साथ लिएर ७ सय ५३ वटै स्थानीय तहमा नयाँ खबरदारी सभा गर्ने बताउनुभयो ।
प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्थाको एजेन्डा सहित आन्दोलनमा जाने समेत अध्यक्ष दाहालले उद्घोष गर्नुभयो ।