सामाजिक र आर्थिक विकास गर्न सरकार र राजनीतिक दलहरु चुक्नु हुँदैनः राष्ट्रपति पौडेल
२४ कार्तिक, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको सांस्कृतिक, सामाजिक र आर्थिक विकास गर्न सरकार र राजनीतिक दलहरु चुक्न नहुने बताउनुभएको छ ।
शनिवार काठमाडौंमा गणेशमान सिंहको ११० औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको जगमा मुलुकको सांस्कृतिक, सामाजिक र आर्थिक विकास गर्न सरकार र राजनीतिक दलहरु चुक्न नहुने बताउनु भयो । राष्ट्रपति पौडेलले मुलुकभित्रै भाग्य र भविष्य सुनिश्चित छ भनेर सुखद् चाहना राख्ने हरेक नेपाली युवाको सपना साकार पार्ने र यो कुरा यही व्यवस्थामै सम्भव छ भनेर जनतालाई भरोसा जगाउनसक्नु नै अहिलेको आवश्यकता भएको बताउनु भयो ।
उहाँले मुलुकमा देखिने भ्रष्टाचार, विकृति र विसंगति हटाउन जरुरी रहेको उल्लेख गर्नुभयो । उहाँले अवसरबाट वञ्चित गरिएका र पिछडिएका जनताको आवाज र असन्तुष्टि सुनी उनीहरुलाई केन्द्रमा राखेर सरकारका नीति एवं कार्यक्रमहरु तय गरी लागू गर्नुपर्ने बताउनु भयो ।
राष्ट्रपति पौडेलले स्वतन्त्रता लोकतन्त्रको आधारभुत र अत्यावश्यक आलोक भएको उल्लेख गर्नुभयो ।