फुटबलर अमिशा कार्कीलाई नगद एक लाखसहित सम्मान
१६ कार्तिक, काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य अमिशा कार्की नगद एक लाख पुरस्कारसहित सम्मानित भएकी छन् ।
एसएस फाउण्डेसनले बानेश्वरमा शुक्रवार एक कार्यक्रममा आयोजना गर्दै अमिशालाई नगदसहित सम्मानपत्रद्वारा सम्मान गरेको हो । एसएस फाउण्डेसनका संरक्षक सोभित उप्रेती र अध्यक्ष वरिष्ठ कलाकार मदनदास श्रेष्ठले अमिशालाई नगद एक लाख पुरस्कारसहित सम्मानपत्र प्रदान गरे ।
गत बुधवार मात्र सम्पन्न साफ महिला च्याम्पियनसिपमा नेपाललाई फाइनलसम्म पु¥याउन अमिशाको महत्वपूर्ण भुमिका थियो । उनले फाइनलमा बंगलादेशविरुद्ध गोलसमेत गरेकी थिइन् । सम्मान कार्यक्रममा अमिशाले समर्थकको राम्रो साथका बाबजुद यसपल्ट उपाधि जित्न नसके पनि आगामी संस्करण जसरी पनि सफलता प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले हरेक क्षेत्रबाट खेलाडीलाई सम्मान गर्दा प्रोत्साहन मिल्ने बताउनुभयो ।
घरेलु भुमिमा सम्पन्न सातौं संस्करणको साफ महिला साफ च्याम्पियनसिपमा पनि नेपाल बंगलादेशसँग २–१ ले पराजित हुँदा उपाधि छैटौंपल्ट उपाधिविमुख भएको थियो ।