जलवायु परिवर्तनको असरलाई दृष्टिगत गरी संरचनाहरु बनाउनुपर्छः अध्यक्ष सिंह
१६ कार्तिक, काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले जलवायु परिवर्तनको असरलाई दृष्टिगत गर्दै भौतिक संरचनाहरु बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
अध्यक्ष सिंहले जलवायु परिवर्तनको असर स्वरुप विभिन्न प्राकृतिक प्रकोपको सिकार हुनुपरेको भन्दै क्षति न्युनिकरणका लागि संरचना बनाउँदा जलवायु परिवर्तनलाई दृष्टिगत गर्नुपर्ने बताउनुभएको हो । उहाँले भविष्यमा निम्तिनसक्ने जोखिमलाई समेत ध्यान दिँदै दिगो संरचना बनाउनुपर्ने बताउनु भयो । विद्यमान संरचनाहरु कुनै पूर्वतयारी बिना बनाइएका कारण जोखिम खेपिरहेको भन्दै उहाँले आगामी दिनमा क्षति नहुनेगरी पुनर्निमाण गर्नुपर्नेमा अध्यक्ष सिंहले जोड दिनुभयो ।
अध्यक्ष सिंहले नदी किनारामा बनेका सडकबाट प्रत्येक वर्ष जोखिम बेहोरिरहेको भन्दै यसको वैकल्पिक मार्गको बारेमा सोच्नुपर्ने बताउनु भयो । आगामी दिनमा संरचना बनाउँदा भौगोलिक बनावटलाई अध्ययन गरेर मात्रै गर्नुपर्ने बताउनु भयो । उहाँले यसका लागि अनुसन्धानमा पनि राज्यले लगानी गर्नुपर्ने बताउनु भयो ।
अध्यक्ष सिंहले भौतिक पूर्वाधार निर्माणको नयाँ योजना अहिले ल्याउनु नहुने बताउनु भयो । उहाँले भइरहेका योजनाहरुलाई जोगाउन र दिगो बनाउन सरकार केन्द्रित हुनुपर्ने बताउनु भयो ।