जलवायु परिवर्तनको समस्यालाई सम्बोधन गर्न आवश्यकः प्रधानमन्त्री ओली
८ कार्तिक, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तनको समस्यालाई सम्बोधन गर्न आवश्यक भएको बताउनुभएको छ ।
बिहीवार काठमाडौंमा संयुक्त राष्ट्र संघ दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हिमनदीहरु पग्लिनु, अप्रत्याशित मनसुन परिवर्तन हुनु र प्राकृतिक प्रकोपहरूमा वृद्धि हुँदा नेपालले ठूलो जनधनको क्षति भएको बताउनु भयो । नेपालमा हालै आएको विपद्ले ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै उहाँले नेपालजस्ता जलवायु परिवर्तनको कारण समस्यामा रहेका देशहरुलाई आर्थिक सहयोग गर्नुपर्ने बताउनु भयो ।
प्रधानमन्त्री ओलीले जलवायु विपद्सँग लड्न नेपाल आफ्नो भुमिका खेल्न तयार रहेको समेत स्पष्ट पार्नुभयो । उहाँले जलवायु लचिलोपन र दिगोपनलाई प्राथमिकता दिने विश्वव्यापी साझेदारीसँग सहकार्य गर्न तयार रहेकोमा जोड दिनुभयो । उहाँले नेपाल संयुक्त राष्ट्र संघका सिद्धान्तप्रति आफ्नो प्रतिवद्धतामा अडिग रहेको बताउनु भयो ।
प्रधानमन्त्री ओलीले शान्ति, सुरक्षा, दिगो विकास र वातावरण संरक्षण प्रवद्र्धन गर्न विश्वव्यापी प्रयासहरूलाई समर्थन गर्न नेपाल प्रतिवद्ध रहेको बताउनु भयो ।
प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्र महासभाले जलवायु परिवर्तन, जैविक विविधताको हानि र वातावरणीय ह्रासका बढ्दो प्रभावहरूलाई प्राथमिकता दिनेमा विश्वस्त रहेको बताउनु भयो ।
नेपालको परराष्ट्र नीतिको एक अंगको रूपमा, सधैँ शान्तिपूर्ण सहअस्तित्व, सार्वभौमसत्ताको लागि पारस्परिक सम्मान र अहस्तक्षेपका सिद्धान्तहरू पालना भइरहेको अवगत गराउँदै उहाँले दुई ठूला छिमेकीहरूको बीचमा रहेको नेपालले ‘सबैसँग मित्रता र कसैसँग शत्रुुता’ को नीति कायम राख्ने स्थितिमा रहेको पनि बताउनुु भयो ।