आगामी अधिवेशनमा निजामती सेवा विधेयक पारित हुन्छः मन्त्री गुप्ता

स्वर्णिम खबर
६ कार्तिक २०८१, मंगलवार १७:३८

६ कार्तिक, काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशाशनमन्त्री राजकुमार गुप्ताले संसदमा विचाराधिन संघीय निजामती सेवा विधेयक छिट्टै पारित गर्ने बताउनुभएको छ ।
मंगलवार अपरान्ह सिंहदरबारमा पत्रकार सम्मेलन गरी आफ्नो सय दिनको कामको उपलब्धि सार्वजनिक गर्ने क्रममा उहाँले सो आश्वासन दिनुभएको हो । सो ऐनलाई छिट्टै पारित गर्नका लागि राजनीतिक दलका नेतृत्वसँग पुनः छलफललाई तिब्रता दिइएको र सकारात्मक सहयोग पनि पाइएको उल्लेख गर्दै मन्त्री गुप्ताले सो विधेयक छिट्टै ल्याउने आश्वासन दिनुभयो ।
उहाँले सो विधेयक संसदका आगामी अधिवेशनमा पारित गर्ने तयारीमा आफू रहेको पनि बताउनुभयो । मन्त्री गुप्ताले संविधान र स्थानीय सरकार संचालन ऐन संशोधनका लागि अर्थ मन्त्रालयमा राय लिने काम सकिएको र कानून मन्त्रालयका स्विकृति पाएपछि त्यसलाई पनि अघि बढाउने बताउनु भयो ।
मन्त्री गुप्ताले कर्मचारी सरुवा मापदण्ड लागू गर्ने काममा पनि ढिलाई नहुने बताउनु भयो । मन्त्री गुप्ताले आफूले निजामती कर्मचारी अस्पताल क्यान्सर रोगको उपचारको थालनी गरेको, निजामती कर्मचारीहरुको अभिलेख डिजिटलाईज गरिएको, प्रमुख प्रशासकीय अधिकृत रिक्त रहेको ठाउँमा वरिष्ठ कर्मचारीलाई निमित्त दिने व्यवस्था गरेकोलगायतका २५ बुँदे कामहरुको पनि वितरण सार्वजनिक गर्नुभयो ।
स्थानीय तहमा वडाको केन्द्र र सीमाना हेरफेर सहज तरिकाले सहजीकरण गर्नका लागि आवश्यक कार्यविधिको पनि मस्यौदा तयार परिएको मन्त्री गुप्ताको सय दिनको मुख्य उपलब्धिको रुपमा उल्लेख गरिएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*