चित्लाङको बिसंखेलमा चम्पाकेश्वर महादेवको जात्रा मनाइयो

स्वर्णिम खबर
१ कार्तिक २०८१, बिहीबार १९:०४

१ कार्तिक, हेटौँडा । थाहा नगरपालिका–१० चित्लाङको बिसंखेलमा चम्पाकेश्वर महादेवको जात्रा मनाइएको छ ।
अम्बे जात्राका रुपमा चिनिने यो जात्रा हरेक वर्ष कात्तिक १ गते मनाईदै आएको छ । चित्लाङका चार गाँउका गोपाली र गमाल जातीले यो जात्रालाई विशेष रुपमा मनाउने गरेका छन् । चित्लाङको तल्लो बिसुंखेल, कलाटुँ, मूलगाउँ र टौखेलका गमाल र गोपाली समुदायले यो जात्रालाई प्राथमिकतामा साथ मनाउने गरेका छन् । यही जात्रा मनाउनुपर्ने भएकाले यस यमुदायले दशैंको टिका कात्र्तिक ४ गते लगाउने भएका छन् ।
परम्परागत चम्पाकेश्वर महादेवको मन्दिरमा लाग्ने अम्बेजात्रा मनाइसकेपछि मात्रै कार्तिक ४ गते दसैंको टीका लगाउने थाहा १० का वडा अध्यक्ष हिराबहादुर गमालले जानकारी दिनुभयो । अम्बेजात्राको आठ दिनअघि गुँआ अर्थात प्रसादका लागि जाँड राख्ने प्रचलन रहेको छ । जाँड राखेपछि काटमार गर्न नहुने, चाडपर्व मनाउन नहुने र माछामासु समेत नचल्ने भएका कारण जात्रापछि मात्रै दशैं मनाउने स्थानीय रामकृष्ण गोपालीले बताउनुभयो । जात्रापछि १२ वर्षे कात्र्तिके नाच देखाउने प्रचलन रहेको स्थानीय पुरुर्षोत्तम गोपालीले बताउनुभयो ।


उक्त नाच ४ गते बिहानसम्म चल्नेछ । जात्राका दिन गोपाली समुदायका गुठीयारहरुले किरा परिसकेको चार घेम्पो जाँड ल्याउने प्रचलन छ । उक्त जाँड र ‘कक बजी’ अर्थात् एक पटक मात्र कुटेको डल्ले चिउरा प्रसादको रुपमा खाने गरिन्छ । उक्त प्रसाद खाएमा पेटको रोग निर्मुल हुने जनविश्वास छ । चित्लाङमा करीब दुई सय घर कुमाल र गमाल समुदाय रहेका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*